राष्ट्र बैंक बन्यो दलीय भर्तीकेन्द्र, कांग्रेसका उम्मेदवार गभर्नर नियुक्त भएपछि चौतर्फी आलोचना

बुधबार, ०७ जेठ २०८२, ०७ : ५९

काठमाडौं- मुलुककै मौद्रीक नीति तय गर्ने, बैंक तथा वित्तिय संस्थाको नियामक निकाय राष्ट्र बैंक सत्तारुढ दलको भर्तीकेन्द्र बनाउन लागिएको छ । मंगलबार कांग्रेसका नेता रहेका डा. विश्व पौडेल गभर्नर नियुक्त भएपछि राष्ट्र बैंकलाई भर्तीकेन्द्र बनाइएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

नवनियुक्त १८ औं गर्भनर पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । गत निर्वाचनमा चितवन १ मा कांग्रेसको उम्मेदवार रहेका उनी रास्वपाका हरि ढकालसँग पराजित भएका थिए । उनलाई नेपाल राष्ट्र बैकको गभर्नरको नियुक्ति ऐन विपरीत राजनितिक दलको सक्रिय सदस्यलाई नियुक्त गरिएको छ ।

यसअघि वैशाख ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । भट्टले वैशाख ५ मा राजीनामा दिए पनि कायममुकायम गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि देउवाले पौडेललाई अघि सारेका थिए ।

मुलुकको केन्द्रीय बैंकमा दलीय कार्यकर्ता नियुक्ति विगतदेखि नै गरिँदै आइएको छ । स्वतन्त्र, सक्षम गभर्नर नियुक्त गर्नुपर्नेमा राजनीतिक दलहरूले आफ्नालाई प्राथमिकता दिँदै आएका छन् । यो प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई पनि एमाले कार्यकर्ता भएको आरोप लागेको थियो । नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यमा खोटाङ घर भएका एम अधिकारीको नाम देखिएपछि उनी नै निवर्तमान गभर्नर अधिकारी भएको चर्चा चलेको थियो । 

बुधबार, ०७ जेठ २०८२, ०७ : ५९

प्रतिक्रिया