काठमाडौं– गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन विमानस्थलमा भिजिट भिसामा रकम असुलेर विदेश पठाउने गिरोहमा संलग्न रहेको गम्भीर आरोप लागेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलमा भिजिट भिसाका नाममा गरिएको असुली धन्दामा संलग्न अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि उनलाई लेखकले नै अध्यागमनमा पठाएको र त्यहाँबाट असुलेको रकम सोझै गृहमन्त्री सम्म पुग्ने गरेको बयान दिएपछि लेखकमाथि प्रश्न उठेको हो ।
विमानस्थलको अध्यागमन प्रमुख रहेका गृहमन्त्रालयका सहसचिव भट्टराईलाई बुधबार अख्तियारले नियन्त्रणमा लिएर उपस्थित हुने शर्तमा छाडेको थियो। उनी सहित विभागका कागजात समेत अख्तियारले नियन्त्रणमा लिएको थियो । त्यसकै अघिल्लो दिन भट्टराई विमानस्थलबाट मन्त्रालय तानिएका थिए । अख्तियारले अनुसन्धान गर्ने संकेत पाएपछि उनलाई गृहमन्त्री लेखकको जोडबलमा गृह मन्त्रालय तानिएको बताइएको छ ।
यो पनि पढ्नुस्
...जब गृहमन्त्री नै तस्करीमा मुछिन्छन् !
यस अघि गृहमन्त्रालयबाट मन्त्री लेखकको दबाबमा उनलाई अध्यागमन पठाइएको तथ्य सार्वजनिक भएको छ । केही मेनपावर र त्यहाँ रहेका अध्यागमनका कर्मचारीको मिलेमतोमा दैनिकजसो ५० लाख असुलेर भिजिट भिसामा विदेश पठाउने गरेका थिए । सो रकम अध्यागमन विभागका कर्मचारी हुँदै गृह मन्त्रालयसम्म पुग्ने गरेको अख्तियारको बयानमा सहसचिव भट्टराईले स्वीकार गरेको अख्तियार स्रोत बताउँछ ।
मुलुकको शान्ति सुरक्षा अमनचयन कायम गराउने तालुकदार मन्त्रालय सम्हालेका लेखकमाथिनेपाली नागरिकमाथि भिजिट भिसामा सेटिङ मिलाएर गरिएको ठगीधन्दामा प्रत्यक्ष संलग्न रहेको आरोप लागेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ ।
मुलुककै गृह प्रशासन सम्हालेका लेखक यस अघि चैत १५ गतेको तीनकुने प्रकरणमा पनि शान्ति सुरक्षा कायम गराउन नसकेको भन्दै विवादमा तानिएका थिए । यद्यपि, त्यसमा उनले राजावादीको हिंसात्मक कार्यले उक्त घटना घटेको भन्दै आफ्नो बचाउ गरेका थिए । सम्पूर्ण दोष राजावादीहरुलाई लगाएर गृहमन्त्री लेखकले आफ्नो कमजोरी ढाकछोप गरेका थिए ।
प्रतिक्रिया