जब गृहमन्त्री नै तस्करीमा मुछिन्छन् !

विहीबार, ०८ जेठ २०८२, १३ : १६

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएको घटनाले केही गम्भीर रहस्योद्घाटन गरेको छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको आशंकामा अख्तियारले त्यहाँ छापा हानेको पाइएको छ । यहाँ स्मरणीय के छ भने सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई अध्यागमनमा पठाएका थिए । अर्को रहष्य त अझ के छ भने अख्तियारले छापा हान्ने सुइँको पाएर नै मन्त्री लेखकको निर्देशनमा हतार–हतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याइएको थियो  

यस घटनाले देशकै प्रतिष्ठामा गम्भीर प्रश्न उठेको छ । यस अघि पनि मन्त्री भै सकेका नेताहरु नै मानव तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । अहिले भिजिट भिसामा विदेश जानेसँग संगठित रूपमै असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको हो । भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिइएका चारैजनालाई सोधपुछ गरेर हाजिर जमानीमा कागज गराएर बुधबारै छाडिएको छ ।

भट्टराईअघि विमानस्थल अध्यागमनको नेतृत्वमा सहसचिव सुरेश पन्थी थिए । उनीमार्फत सेटिङ नचल्ने भएपछि गृहमन्त्री लेखकले चार महिना नपुग्दै हटाएर भट्टराईलाई विमानस्थल अध्यागमनमा पठाएका थिए । उनी विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन् । १० वर्षअघि काठमाडौंको स्थानीय विकास अधिकारी छँदा त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । पछि सफाइ पाएका उनी सेवामा जोडिएपछि पनि शक्तिकेन्द्रसँग निकट भई आकर्षक पोस्टिङमा खटिँदै आएका थिए । 

अध्यागमनमा मनग्ये आमदानी हुनेभएकोले त्यहाँ जाने सबैजसो कर्मचारीहरू गृहमन्त्रीको सचिवालयमार्फत जाने गरेको बताइन्छ । ‘मन्त्रीको सचिवालयबाट ओके नभई अध्यागमनमा कोही जान सक्दैन,’ मन्त्रालयका एक अधिकारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘यसमा प्रिपेडदेखि मासिक लेनदेन हुने गरेको छ ।’ अध्यागमनको कर्मचारी सरुवामा गृहका उच्च पदस्थ कर्मचारीहरुको विशेष चासो हुने गरेको स्रोतको भनाइ छ ।
 
आर्थिक चलखेल र अनियमितता नहुने संभवतः कुनै पनि निकाय छैनन् होला तर अध्यागमनमा अहिले जस्तो सेटिङ कहिल्यै भएको थिएन । यद्यपी अध्यागमनमा भिजिट भिसामा हुने सेटिङ नयाँ होइन । गत वर्ष पनि प्रहरीले अध्यागमनका आठ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारले पनि विगतमा बारम्बार मुद्दा चलाएको छ । यसरी सेटिङमा विदेश गएका धेरै महिलाहरू पछिल्लो समय कुवेत, ओमान र इराकसम्म लगेर बिक्री भएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । जब राज्यका जिम्मेवार व्यक्तिहरु नै मानव तस्करी जस्तो कलंकित अपराधमा संलग्नहरुलाई संरक्षण दिन्छन् त्यो देशको भविष्य के होला ? आज कतिपय मानिसहरु देशको प्रगति नहुनुमा व्यवस्थाको दोष देख्छन् । व्यवस्थाका सञ्चालकहरुको मनोवृत्तिमा परिवर्तन नभएसम्म जुनसुकै नामको व्यवस्था भए पनि कुनै प्रगति हुन सक्तैन । अहिले नेपाल यही नियती भोगिरहेको छ । जब गृहमन्त्री नै यस्ता घटनामा मुछिन्छन् कोबाट सुशासन र न्यायको अनुभूति गर्ने ?  

विहीबार, ०८ जेठ २०८२, १३ : १६

प्रतिक्रिया