संघीय गणतान्त्रिक गठबन्धनले सुरु गर्‍यो संयुक्त जनजागरण अभियान

विहीबार, २६ असार २०८२, १६ : ५८

काठमाडौं- संघीय गणतान्त्रिक गठबन्धनले संयुक्त जनजागरण अभियान प्रारम्भ गरेको छ ।

गठबन्धनको आयोजनामा मलङ्वास्थित नारायण धर्मशालामा सम्पन्न संयुक्त जनजागरण अभियान अन्तरक्रिया तथा सभा देशभरिका उत्पीडित समुदायको पक्षमा एक निर्णायक मोडको रूपमा देखिएको छ। चार वटै दलका शीर्ष नेताहरूको धारणा र हजारौं जनताको र्‍यालीले जनतामा नयाँ ऊर्जा र जागरणको सन्देश दिएको छ।

गठबन्धनका संयोजक एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले आफ्ना गहकिला विचार प्रस्तुत गर्दै भने, “नेपालमा अहिलेसम्म उत्पीडित जनताको नाममा खोलिएका धेरै पार्टी र गठबन्धनहरूले पटक–पटक धोका दिएका छन्। ती दलहरू मधेसी जनताको आन्दोलनलाई सत्ता प्राप्तिको सिडीको रूपमा प्रयोग गर्दै आएका छन्। तर आज मुख्य प्रश्न के हो भने – के उत्पीडित जनताको राजनीतिक आन्दोलन समाप्त भयो ? के हामीले सुशासन र समानतासहितको नेपाल बनाइसक्यौं ? उत्तर स्पष्ट छ – होइन।”

उनले संविधान पुनर्लेखन वा संशोधनमार्फत मधेसी, मुस्लिम, दलित, आदिवासी जनजाति, निषाद तथा पिछडिएका वर्गको हक अधिकार सुनिश्चित नगरेसम्म संविधानप्रति जनताको अनुभूति नजाग्ने र त्यसअनुसार स्थिरता आउन नसक्ने बताए । 

उनले थपे, “अहिलेको गणतन्त्र भ्रष्ट कर्मचारी, भ्रष्ट नेता, दलाल पुँजीपति र बिचौलियाहरूको हातमा बन्धक बनेको छ। हामी त्यसलाई नेपाली जनताको वास्तविक गणतन्त्रमा रूपान्तरण गर्न संघीय गणतान्त्रिक गठबन्धनमार्फत संघर्षरत छौं।”

अध्यक्ष अन्सारीले वर्तमान निर्वाचन प्रणाली उत्पीडित जनताको विपक्षमा रहेको भन्दै पूर्ण समानुपातिक प्रणालीको खाका अगाडि सारे । साथै, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अधिकार सम्पन्न प्रदेशहरूको संरचना निर्माण गर्नुपर्ने मागलाई पनि जोड दिए । 

उनले भने, “वर्तमान संघीयता प्रशासनिक एकाइ मात्रै हो, यो उत्पीडित जनतासँग धोका हो। हामी पूर्ण अधिकार सम्पन्न संघीय संरचनाको पक्षमा दृढ छौं।”

अन्त्यमा उनले सम्पूर्ण उत्पीडित समुदायलाई एकताबद्ध भई संघीय गणतान्त्रिक गठबन्धनको छातामुनि गोलबद्ध भई जनजागरण अभियानलाई सफल बनाउन हार्दिक आह्वान गरे । 

नेपाल संघीय समाजवादी पार्टीकी मधेश प्रदेशसभाकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारीले आफ्नो सम्बोधनमा प्रदेशसभा भित्रको अनुभव प्रस्तुत गर्दै वर्तमान सरकारप्रति तीव्र आलोचना गरेकी छन् ।

उनले भनिन्, “म अहिले प्रदेश सभामा छु, र मैले प्रत्यक्ष रूपमा देखेँ—यो सरकार उत्पीडित जनताको सरकार होइन। यो मधेसी, दलित, महिला, आदिवासी जनजाति, मुस्लिम र निषाद समुदायका लागि कुनै स्पष्ट नीति, योजना र प्रतिबद्धता बिना चलिरहेको छ।”

उनले शिक्षाको पहुँच, आर्थिक उत्थान र सामाजिक न्यायका मुद्दामा सरकारको असंवेदनशीलता औंल्याउँदै संसदमा निरन्तर आवाज उठाउँदै आएको जनाइन् । साथै, उनले सम्पूर्ण उत्पीडित जनसमुदायलाई यो अभियानमा साथ दिन आग्रह गरिन् ।

“यो लडाइँ मेरो व्यक्तिगत होइन, सम्पूर्ण उत्पीडित समुदायको हो। म तपाईँहरू सबैलाई संघीय गणतान्त्रिक गठबन्धनलाई बलियो बनाउने आह्वान गर्दछु,” उनले भनिन् ।

कार्यक्रममा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले आफ्नो सम्बोधनमा उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न चार वटै पार्टीको साझा रणनीति र ऐक्यबद्धता प्रस्तुत गरेका थिए ।

उनीहरूले संघीयता, सामाजिक न्याय, समावेशी सेना, आर्थिक अवसर, र राजनीतिक प्रतिनिधित्वमा पूर्ण समानता कायम गर्न एकीकृत आन्दोलन अपरिहार्य रहेको बताएका थिए । वर्तमान चुनाव प्रणाली, सत्ता संरचना र संसदीय विकृतिको विरुद्ध चारै अध्यक्षहरू एक स्वरमा उभिनु जनताको पक्षमा साहसिक कदमको रूपमा लिइएको छ।

कार्यक्रमअन्तर्गत हजारौंको संख्यामा भव्य र्‍याली पनि सम्पन्न भयो । राष्ट्रिय झन्डा, पार्टी झन्डा, प्लेकार्ड र नारासहितको यो र्‍यालीले मलङ्वाको हरेक कुनामा जनजागरणको आवाज पु¥याएको थियो ।

 
विहीबार, २६ असार २०८२, १६ : ५८

प्रतिक्रिया