काठमाडौं- नेपाल कृषिप्रधान देश भएतापनि मुख्य खाद्यान्न बाली धान लगायतमा अझै पनि आत्मनिर्भर बन्न सकिरहेको छैन । अहिले पनि सरकारी तथ्यांक अनुसार नेपालले वर्षेनी ३० देखि ३५ अर्बको धान आयात गर्ने गर्दछ ।
देशको अर्थतन्त्रको ठूलो हिस्सा कृषिले ओगटे पनि जम्मा २७ प्रतिशत जमिन खेतीयोग्य छ । अहिले २० प्रतिशत जमिनमा मात्र खेती हुन्छ । पहाडको कोदो, फापर, जुनेलो, मकै, जौ आदि महत्वपूर्ण बाली उत्पादन हुने जमिन धेरै बाँझो रहेको कारणले यस्तो अवस्था सिर्जना भएको हो । पारिवारिक हिसाबले गर्दा नेपालमा ४४ लाख घर परिवारले पूर्णरुपमा कृषि पेशा अँगालेका छन् । ८०.१ प्रतिशत खाद्यान्न पारिवारिक कृषि प्रणालीअन्तर्गत उत्पादन हुन्छ । नेपालमा १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । विश्वमा धान उत्पादन गर्ने मुलुकमा नेपाल सत्रौं स्थानमा पर्छ । नेपालमा अहिलेसम्म सरदर ४८ लाख टन धान उत्पादन हुन्छ । नेपाललाई कूल ६० लाख टन धानले सबैलाई खान पुग्छ । वैज्ञानिक तथा व्यावसायिक तरिकाले धान उत्पादन गर्न सकिने तथ्य विभिन्न अध्ययनहरुले देखाएका छन् । ६० लाख टनभन्दा बढी उत्पादन हुन थाल्यो भने नेपाल धान आयातक देशबाट धान निर्यातक देशमा परिणत हुन सक्छ । नेपालमा सबभन्दा धेरै धानको उपयोग गरिन्छ । भात नेपाली संस्कृतिको अभिन्न अङ्ग भैसकेको छ । पहिले आर्थिक रुपमा कमजोर मानिसहरुले विशेष चाडपर्वमा मात्र भात खाने प्रचलन थियो । अहिले भात आम नेपालीको बीचमा ज्यादै लोकप्रिय छ । दाल, भात, तरकारी र अचार नेपालको राष्ट्रिय खानाका रुपमा परिभाषित भैसकेको छ ।
धान, मकै, गहुँ नेपालका प्रमुख खाद्यान्न बाली हुन् तर धान नै नेपालको प्राथमिकताको सूचीमा परेको महत्वपूर्ण खाद्यान्न बाली हो । त्यसैले धान उत्पादनको लागि सरकारले किसानहरुलाई विशेष सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । खेतीयोग्य जमीन पनि गाउँमा युवा जनशक्रिको अभावमा बाँझै रहने अवस्था छ । युवा जनशक्तिलाई देशमै बस्ने वातावरण सिर्जना गर्न सकेको खण्डमा नेपालको कृषि उत्पादनमा पनि उल्लेख्य वृद्धि हुनेछ ।
धान प्रायः नेपालको सबै भूगोलमा उत्पादन हुन्छ । पहाडको वेसी तथा फाँटमा बस्ने धनी किसानहरुले धानलाई नगदे बालीका रुपमा राख्थे र बेच्ने गर्दथे । मकै, कोदो, फापर तथा जौ, गहुँ खाएर भए पनि धान बेच्ने प्रचलन थियो । त्यतिबेला भातलाई विशेष मिठो खाद्यान्नका रुपमा लिइन्थ्यो । एक दिनभरि खनजोत गर्ने कृषि मजदुरले जम्मा एकपाथी धान मात्र ज्याला पाउँथ्यो ।
त्यसैले भातलाई नियमित खानाको सूचीमा राख्ने प्रचलन नेपाली जनजीवनको स्थापित प्रचलन भइसकेको परिदृश्यमा धानको उत्पादनमा क्रान्ति ल्याउनु पर्ने आवश्यकता बढेर गएको छ । तर नेपाल धान बाली उत्पादनमा आत्मनिर्भर छैन । नेपाली पहाड तथा हिमाली क्षेत्रका जनताको भान्सामा नेपालको चामल होइन अधिकांश भारतबाट आयात गरिएको चामल पुग्छ । ६२ प्रतिशत कृषि पेशामा निर्भर भएका जनता, धान उत्पादनमा भारी सम्भावना बोकेको मुलुक भएर पनि नेपाल धानमा समेत परनिर्भर हुनु उदेकलाग्दो अवस्था हो ।
यद्यपी नेपाल सरकारले धान उत्पादनलाई दोब्बर बढाउने, आयात प्रतिस्थापन गर्ने, कृषिलाई व्यावसायिकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गर्ने जस्ता लक्ष्य लिएको छ । तर व्यवहारमा हेर्दा देशका वास्तविक किसानले समयमा मल प्राप्त गर्न समेत सकेका छैनन् । देशको १५ लाख हेक्टर जमिनमा धान खेती गर्ने साना तथा निम्न मध्यम किसान वर्गलाई कृषि बैंक तथा अन्य वित्तीय संस्थाहरुले ऋण दिदैनन् । सरकारले लिएको नीति र कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा मात्र नेपाल धान उत्पादनमा एउटा क्रान्ति ल्याउन सफल हुनेछ । त्यसपछि यो मुलुक धान आयातकर्ताबाट निर्यातकर्तामा परिणत हुन समय लाग्नेछैन । यसको लागि सरकार तथा सबै सरोकारवाला पक्ष र आम नेपाली जनता पनि मुलुकको प्रमुख खाद्यबालीको उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बन्ने दिशामा लाग्न जरुरी छ । यसै सन्दर्भमा नेकपाको विप्लव समूहले कृषि उत्पादनलाई पार्टी नीतिको मुख्य अङ्ग बनाएको छ । जस अनुसार उक्र समूह अहिले देशका विभिन्न भागमा धान रोपाईमा व्यस्त रहेको छ । उनीहरुको अनुसरण अन्य दलले पनि गरे राष्ट्रिय उत्पादनमा ठूलो टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया