काठमाडौं - नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि अर्थतन्त्रको अवस्था कमजोर नै छ । परम्परागत कृषिमा जीविकोपार्जन गरिरहेका हाम्रा किसानहरुको जीवनस्तरमा अहिलसम्म पनि उल्लेख्य सुधार हुन नसक्नु सरकारी नीति नियम पनि जिम्मेवार छन् । कृषिमा प्रविधिको प्रयोग गर्दै व्यावासायिकरण गर्नु आजको आवश्यकता हो ।
कृषिमा आधुनिकीकरण गर्नको लागि समयानुकूल फसललाई प्राथमिकता दिनुपर्ने हुन्छ । हालैका केही वर्षहरुमा नेपालमा सुरु गरिएको ड्रागन खेतीलाई लिन सकिन्छ । अहिले प्युठान, अर्घाखाँची, दाङ, पाल्पा ,सुर्खेत जस्ता पहाडी जिल्लामा ड्रागन फलको व्यावसायिक खेती फस्टाएको छ । पहाडी जिल्लाका विभिन्न समथर फाँट र पाखोबारीमा समेत अहिले किसानले यसको खेती विस्तार गरेका छन् । पहाडी जिल्ला प्यूठान, अर्घाखाँची, पाल्पासँगै दाङमा अहिले ड्रागनको खेती भइरहेको छ ।
यसको खेतीको लागि जमीन नै चाहिने होइन । घरको छतमा पनि राम्रो उत्पादन भएको देखिन्छ । नेपालमा यसको खेतीलाई सुरुवात गर्ने माओवादीका नेता लोकेन्द्र विष्ट मगर हुन । उनले सांसद्, मन्त्री भए र अन्त्यमा स्वैच्छिक अवकाश लिए । अनि, सुरु गरे कृषि कर्म ।उनले दाङमा व्यावसायिक ड्रागन खेती गरिरहेका छन् । ०७२ साउनदेखि पार्टी छोडेका विष्ट निरन्तर कृषिमा छन् । रुकुमको मुरुमा जन्मिएका उनी देशमा सशस्त्र युद्ध हुनुअघि नै भूमिगत भइसकेका थिए । सुरुमै जेल परे । चारपटक गरी १० वर्ष जेल बसे । उनी दुईपटक सदन र दुईपटक सरकारमा सहभागी भए । स्वास्थ्य मन्त्री र पर्यटन मन्त्री भए । पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा बसे । पार्टीमा पनि नेताहरूले मागी खाने होइन भन्ने विचार राखे । केही न केही इलम गर्नुपर्छ भने तर अरुले नमाने पनि उनी भने कृषि कर्ममा लागे ।
यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर, फेसवासलगायतका सामग्री बनाउन सकिने विष्टले बताए । यो फल जेठरअसारदेखि मंसिरसम्म पाँचदेखि सातपटकसम्म फल्ने गर्छ । यसको फूल रातिमा फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर रोप्न सकिन्छ । यसको विरुवा बलियो नहुने भएकाले अड्याउन पोल ठड्याइन्छ । यो तराईदेखि १ हजार ५ सय मिटरको उचाइसम्म खेती गर्न सकिन्छ । रातो प्रतिकेजी ८ सय र सेतो ७ सय रुपैयाँमा बिक्री भइरहेको विष्टले बताए । रातो फलको बिरुवा एउटाको ३ सय र सेतोको २ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । ‘अब म कृषिमै सम्भावना देखाउन चाहन्छु,’ उनले भने, ‘अरूलाई पनि कृषिकर्म गर्न प्रोत्साहन गर्छु ।’
पछिल्लो समय पहाडमा पनि ड्रागन राम्रो उत्पादन हुन थालेपछि कृषक आकर्षित हुन थालेका छन् । ड्रागन रोपेको तीन वर्षमै फल दिएको उनले बताए । ‘मैले पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङमा गरेको ड्रागन खेतीका बारेमा युट्युबमा देखेर खेती सुरु गरेको हुँ,’ उनले भने, ‘घरको छतमै सोचेभन्दा राम्रो फल्यो । अब यसलाई विस्तार गरेर बारीमा खेती गर्छु ।’ उनले केही फल बिक्री पनि गरिसकेका छन् । किलोको १ हजार रुपैयाँमा बिक्री भएको छ । सुरुमा छतमा खेती गर्दा छिमेकीले गाली गरेका थिए । पहाडमा परीक्षणका लागि छतमा खेती गरिएको हो ।
बिष्ट जस्तै जिम्मेवार तहमा पुगेका नेताहरुले सिर्जनशिल भएर परम्परागत कृषिलाई व्यवसायिक र आधुनिक बनाउन नेतृत्व गर्ने हो भने ग्रामिण अर्थतन्त्रमा अवश्य पनि सुधार आउनेछ । ड्रागन जस्तै नगदे र लोकप्रिय बालीको उत्पादनबाट कृषिलाई अर्थतन्त्रको कोसेढ्ंगा बनाउन सकिन्छ । यसको लागि सरकारले पनि विशेष कार्यक्रम घोषणा गरे किसानहरुलाई प्रोत्साहन गर्नुपर्दछ ।
प्रतिक्रिया