आज यी राशिको यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुने, अरुको दिन कस्तो ?

शनिबार, १० जेठ २०८२, ०७ : १०

काठमाडौं- वि.सं.२०८२ साल ज्येष्ठ १० गते । शनिबार । ईश्वी सन् २०२५ मे २४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ कृष्णपक्ष । तिथि–द्धादशी, २७ घडी ४० पला, बेलुकी ४ बजेर १७ मिनेट उप्रान्त त्रयोदशी ।

नक्षत्र–रेवती, १४ घडी ३७ पला, बिहान ११ बजेर ४ मिनेट उप्रान्त अश्विनी । योग–आयुष्मान, १८ घडी ५६ पला, दिउसो १२ बजेर ४७ मिनेट सौभाग्य । करण–कौलव, बिहान ५ बजेर २९ मिनेट उप्रान्त तैतिल, बेलुकी ४ बजेर १७ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन, बिहान ११ बजेर ४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी २ पला ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरू सम्पन्न हुने तथा सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका साथ रमाइलो यात्रा हुने तथा चलचित्र, खानपानमा समय व्यातित हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । बिहानको समयमा लामो दुरीको यात्राको तय हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरीको यात्राको प्रबल सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । परिवारका साथ रमाइलो यात्रा गरी रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । परिवारका साथ मनोरञ्जन, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बिच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । खानपान तथा मनोरञ्जनमा थोरै समय भएपनि व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइँदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धी परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन्। रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धा परास्त हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मिठो बोलेर धेरै कामहरू सम्पादन गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

शनिबार, १० जेठ २०८२, ०७ : १०

प्रतिक्रिया