भिजिट भिसामा ठगी धन्दा : गृहमन्त्री लेखकविरुद्ध उजुरी, निलम्बन गर्न माग

शुक्रबार, ०९ जेठ २०८२, १५ : १७

काठमाडौं- गृहमन्त्री रमेश लेखकलाई निलम्बन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । 

यस अघि रास्वपाका सभापति रवि लामिछाने विरुद्ध मुद्दा हालेर चर्चामा आएका युवराज सफलले त्रिभुवन विमानस्थलमा घुस असुली प्रकरणमा मुछिएकाले गृहमन्त्री लेखकलाई निलम्बन गर्न माग गर्दै शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

उनले उजुरीमा लेखेका छन्,‘ ...तत्काल गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दवाडीलाई पदबाट निलम्बन गरी प्रचलित कानुन बमोजिम मुद्दा दर्ता गरी पक्राउ समेत गरी हदेसम्मको कारबाही गर्न सम्माननीय प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गर्न चाहान्छु ।’

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको उजुरी परेपछि अख्तियारले बुधबार त्यहाँ छापा हानेको थियो ।

विमानस्थलको अध्यागमन प्रमुख रहेका गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई बुधबार अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारले अनुसन्धान गर्ने संकेत पाएपछि मंगलबार मात्रै भट्टराईलाई विमानस्थलबाट गृहमन्त्री लेखककै जोडबलमा मन्त्रालय तानिएका थिए । यस प्रकरणमा गृह मन्त्री लेखकको पनि संलग्नता रहेको आरोप लागेको छ ।

हेर्नुहोस् उजुरीपत्र 

शुक्रबार, ०९ जेठ २०८२, १५ : १७

प्रतिक्रिया