कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घरमा उभिनुपर्ने अवस्था छ : चिरिबाबु महर्जन

आइतबार, ११ जेठ २०८२, १० : ३६

काठमाडौं- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अप्ठ्यारो रहेको बताएका छन् । 

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घर (अख्तियार) मा उभिनुपर्ने अवस्था रहेको बताए । उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए  ।

राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिचकिचाउनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताए । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने उल्लेख गर्दै उनले राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए । 

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरू काम पूरा गरेको जिकिर गरे । 

आइतबार, ११ जेठ २०८२, १० : ३६

प्रतिक्रिया