चलचित्र ‘महाभोज’ को प्रचारका लागि सडक नाटक प्रदर्शन

आइतबार, ११ जेठ २०८२, १२ : १०

काठमाडौं- जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र  ‘महाभोज’ले प्रचारमा सडक नाटक प्रदर्शन थालेको छ । केही दिन अगाडिदेखि थालिएको सडक नाटक शनिबार साँझ काठमाडौंको गोगंबुमा प्रदर्शन गरिएको छ ।

‘सत्य कहिल्यै लुक्दैन– महाभोज’ शीर्षकको सडक नाटक चलचित्रको कथाबारे प्रकाश पार्न प्रदर्शन गरिएको हो । नाटकले चलचित्रको मूल भावबारे जानकारी गराउँदै फिल्म प्रति दर्शकको आकर्षण बढाउनेछ । निर्माण पक्षका अनुसार नाटक चलचित्र रिलिजको अघिल्लो दिनसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा प्रदर्शन हुनेछ । 

दिनेश राउत निर्देशित ‘महाभोज’ले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्दछ । पीडितको वेदना, जागिरेहरूको मानसिक संघर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य भूमिका छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको चलचित्रको निर्माता हिमाल कडरिया हुन् भने लेखक विकास सुवेदी रहेका छन् ।

आइतबार, ११ जेठ २०८२, १२ : १०

प्रतिक्रिया