ट्रेड टावरले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

मंगलबार, १३ जेठ २०८२, १७ : ००

काठमाडौं- ट्रेड टावर लिमिटेडले भोलि बुधबारदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

मंगलबार, १३ जेठ २०८२, १७ : ००

प्रतिक्रिया