‘मिस युनिभर्स नेपाल २०२५’ रियालिटी शो मोडलमा हुने, दर्ता प्रक्रिया सुरु

बुधबार, १४ जेठ २०८२, १६ : ३२

काठमाडौं— मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ। बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्षको संस्करण रियालिटी टिभी शोको ढाँचामा आयोजना गरिने घोषणा गरेको हो।

रियालिटी शो मोडलमा प्रस्तुत गरिने यस प्रतियोगितामा दर्शकहरूले प्रतिस्पर्धीहरूको यात्रा, चुनौती, र परिवर्तनलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले कार्यक्रममार्फत नेपाली महिलाको असीम क्षमता उजागर गर्न यो मञ्च समर्पित भएको बताइन्। प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे बताउँदै उनले भनिन्, “हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं। तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।”

प्रतियोगिताका लागि दर्ता जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ। इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया मार्फत दर्ता गर्न सक्नेछन्। सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त भएको हुनुपर्छ।

प्रतियोगितामा उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको छ। नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि सहभागी हुन सक्नेछन्।

साउनमा टप प्रतिस्पर्धीहरूका लागि २५ दिने इन्टेन्सिभ ट्रेनिङ हुनेछ भने भदौमा क्लोज क्याम्प र अन्ततः ग्रान्ड फिनाले आयोजना गरिनेछ। साथै, प्रतियोगिता समाजसेवा र सामाजिक कल्याण क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्यमा अगाडि बढ्नेछ।

बुधबार, १४ जेठ २०८२, १६ : ३२

प्रतिक्रिया