काठमाडौं- हेटौंडामा सम्पन्न विश्व दूध दिवसको मूल समारोहमा नेपाल डेरी एसोसिएसनलाई मन्त्री रामनाथ अधिकारीले सम्मान गरेका छन् । अध्यक्ष प्रह्लाद दाहाल लगायतका पदाधिकारी तथा सदस्यहरूले सम्मान ग्रहण गरेको छन् ।
एसोसिएसनको पहलमा करिब दुई वर्षयता मोही प्रवर्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् । एसोसिएसनले हरेक शनिवार काठमाडौँस्थित दरबारमार्गमा रैथाने मेलामा मोही मथेर निःशुल्क सेवन गराउँदै आइरहेको छ ।
एसोसिएसनले चलाएको अभियानका कारण ३ दर्जन जति डेरी उद्योगले प्याकिङ गरेर मोही ब्राण्डिङ नै सुरु गरिसकेका छन् भने सार्वजनिक सभा सभारोहमा पनि मोहीको प्रचलन अत्यधिक बढेको छ ।
“दुग्ध पदार्थको खपत बढाउन मोही अभियान चलाएका हौँ, यसबाट निकै नै राम्रो प्रभाव त परेको छ नै आज एसोसिएसन विश्व दूध दिवसको अवसरमा यसै कारणले सम्मानित हुँदा निकै खुसी लागेको छ,” एसोसिएसनका अध्यक्ष दाहालले भने, “अभियानमा साथ दिने सबैमा धन्यवाद, हामी अभियान जारी नै राख्नेछौँ ।”
एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले पनि खुसी व्यक्त गर्दै मेहनतको फल मिलेको बताउँदै राम्रो काम गर्दा सुरु सुरुमा कठिन भए पनि बिस्तार सबैले त्यसमा साथ दिने रहेछन् भन्ने कुरा यो सम्मानले पुष्टि गरेको कुरा बताए ।
प्रतिक्रिया