निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद १ दिन थप

बुधबार, २१ जेठ २०८२, १० : ४३

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । 

अब यस ऋणपत्रमा बिहीबार जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ । यसअघि बैंकले आज जेठ २१ गतेसम्म ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । तथापि, जेठ १८ गते भोटो जात्राका लागि उपत्यकाभित्र सार्वजनिक विदा दिइएकाले बिक्री अवधि १ दिन थप गरिएको बैंकले जनाएको छ । 

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख  इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्र निष्कासन गरेको हो ।

यसमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

बुधबार, २१ जेठ २०८२, १० : ४३

प्रतिक्रिया