हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने

शनिबार, २४ जेठ २०८२, ११ : ०१

काठमाडौं- हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा कुल २ लाख ७९ हजार ७५० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले ११ लाख १९ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्न पाउनेछ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५ सय कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात ९३ हजार २५० कित्ता सेयर छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गत ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ८ (साविक भुसिङ्गा गाविस) र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ (साविक गोली गाविस वडा नं. १ देखि ५) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको प्रमाणसहित आवेदन दिनुपर्नेछ।

दुवै समूहका आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन खुला हुने म्याद छिटोमा असार १३ गतेसम्म र ढिलोमा असार २९ गतेसम्म कायम रहनेछ। 

आयोजना प्रभावित बासिन्दाहरूले आवेदन दिन सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गास्थित महिला भवन र जनस्वास्थ्य भवन तथा सोलुखुम्बुको वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

यस आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

शनिबार, २४ जेठ २०८२, ११ : ०१

प्रतिक्रिया