दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी सुरु, २१ क्षेत्रका क्रियाकलाप समेटिने

सोमबार, २६ जेठ २०८२, १२ : २३

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अगाडि बढाएको छ । 

आगामी चैतदेखि दोस्रो आर्थिक गणनाको काम सुरु हुने तथ्यांक समन्वय कार्यालय, कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । उनका अनुसार पहिलो आर्थिक गणना वि.सं २०७५ मा भएको थियो । पाँच वर्षको अन्तरालमा हुनुपर्ने आर्थिक गणना कोभिड–१९ महामारीलगायत कारणले सात वर्षमा हुन लागेको हो । आर्थिक गणनाका विषयमा आज पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा तथ्यांक समन्वय अधिकारी सापकोटाले चैत महिनाभित्र जिल्लास्तरमा गणना कार्यालय स्थापना हुने र विसं २०८३ वैशाख र जेठमा गणना कार्य हुने बताए । 

“सरोकार भएका पक्षहरुसँग छलफल र आर्थिक गणनाका विषयमा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने काम सुरु भएको छ”, उनले भने, “गणनाका लागि निर्देशिका, कार्यविधि, प्रश्नावली तयारीदेखि अन्य प्राविधिक तथा प्रशासनिक काम भइरहेका छन् ।”

देशको सम्पूर्ण आर्थिक गतिविधिका विवरण संकलन गर्ने र आर्थिक क्रियाकलापसम्बन्धी तथ्यांक अद्यावधिकका लागि आर्थिक गणना महत्वपूर्ण हुने उनले बर्ताए । तथ्यांक समन्वय अधिकारी सापकोटाले नेपालका सन्दर्भमा आर्थिक गणना नयाँ भए पनि यसले सरकारलाई तथ्यमा आधारित नीति तथा निर्णय प्रक्रिया अवलम्बन गर्न मद्दत पुर्याउन बताए । उनले तथ्यांक ऐनले गोपनीयताको हकको रक्षा गरेकाले आर्थिक गणनाका क्रममा यथार्थ विवरण दिन सबैमा आग्रह गरे । 

आर्थिक गणनामा विभिन्न २१ क्षेत्रका आर्थिक क्रियाकलाप समेटिने कार्यालयले जनाएको छ । वि.सं २०७५ को गणनामा देशभर नौ लाख २३ हजार ३५६ वस्तु तथा सेवाको उत्पादन र बिक्री गर्ने प्रतिष्ठानहरु गणना भएका थिए । गण्डकी प्रदेशमा एक लाख ६८४ र कास्कीमा ३० हजार ७४५ व्यावसायिक प्रतिष्ठानहरु गणनामा समेटिएका थिए । -रासस

सोमबार, २६ जेठ २०८२, १२ : २३

प्रतिक्रिया