नेपाल–श्रीलंका आइसीटी एलायन्स २०२५ : डिजिटल रुपान्तरणका लागि रणनीतिक साझेदारी

बुधबार, २८ जेठ २०८२, १६ : ४३

काठमाडौं — नेपाल र श्रीलंकाबीच सूचना तथा प्रविधि (आइसीटी) क्षेत्रमा ऐतिहासिक रणनीतिक साझेदारी सुरु भएको छ। "नेपाल–श्रीलंका आइसीटी एलायन्स २०२५" नाम दिइएको यो पहलले दक्षिण एशियाको डिजिटल रुपान्तरणमा महत्वपूर्ण गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो महत्त्वपूर्ण पहलको अवधारणा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीद्वारा अगुवाइ गरिएको हो। कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य तथा प्राज्ञिक विज्ञ ओंकार बस्नेत पनि उपस्थित थिए। प्रस्तावलाई काठमाण्डौस्थित श्रीलंकाली दूतावासकी कार्यवाहक राजदूत चमेरी मुनेसिंघेलाई हस्तान्तरण गरिएको थियो।

साझेदारीका मुख्य आधारहरू:

१. नेपाल–श्रीलंका आइसीटी व्यवसाय परिषद स्थापना:
क्यान महासंघ, श्रीलंका सोफ्टवेयर सेवा कम्पनी संघ (SLASSCOM) र श्रीलंका आइसीटी एजेन्सी (ICTA) को सहकार्यमा द्विपक्षीय आइसीटी व्यवसाय परिषद गठन गरिनेछ। यसमार्फत साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (AI) लगायतका क्षेत्रमा सहकार्य र व्यापार प्रवर्द्धन हुनेछ।

२. स्टार्टअप र नवप्रवर्तनमा संयुक्त लगानी:
श्रीलंकाली भेञ्चर क्यापिटल, एक्सेलेरेटर र कम्पनीहरूको सहकार्यमा नेपाली स्टार्टअपहरूलाई स्वास्थ्य प्रविधि, कृषि प्रविधि, फिनटेक र एआई क्षेत्रमा संयुक्त लगानी र इन्क्युबेसन सुविधा उपलब्ध गराइनेछ।

३. आइटी प्रमाणपत्रको पारस्परिक मान्यता:
दुबै देशले एक अर्काका आइटी तालिम र प्रमाणपत्रलाई मान्यता दिने सहमति गरेका छन्। यसले दक्ष जनशक्ति आदानप्रदानलाई सहज बनाउनेछ।

४. आउटसोर्सिङ र प्रतिभा आदानप्रदान:
दुबै देशबीच सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, BPO र साइबर सुरक्षा सेवामा साझेदारी गर्दै दक्ष जनशक्ति आदानप्रदान गरिनेछ।

५. साइबर सुरक्षा सहकार्य:
नेपालको npCert र श्रीलंकाको CERT ले एकअर्काबीच साइबर सुरक्षा सम्बन्धी जानकारी साटासाट, संयुक्त कार्यशाला र संकट व्यवस्थापन अभ्यासमा सहकार्य गर्नेछन्।

६. आइसीटी एक्स्पो र व्यापार मिशनको सह–आयोजना:
नेपालको क्यान इन्फोटेक, B2B सम्मेलन, स्टार्टअप एक्स्पो र श्रीलंकाका व्यापार मेला, नीति संवाद लगायतका कार्यक्रममा पारस्परिक सहभागिता गराइनेछ।

७. द्विपक्षीय आइसीटी लगानी कोषको सुरुवात:
संयुक्त अनुसन्धान, प्रविधि विकास तथा व्यवसायीकरणलाई प्रवर्द्धन गर्न ‘नेपाल–श्रीलंका आइसीटी इनोभेसन फन्ड’ स्थापना गर्ने तयारी भइरहेको छ।

८. शैक्षिक तथा अनुसन्धान सहकार्य:
एआई, ब्लकचेन, डाटा एनालिटिक्सलगायत क्षेत्रमा अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान गर्न दुवै देशका प्रमुख विश्वविद्यालयहरूले समझदारी पत्र (MoU) साइन गर्नेछन्।

९. डिजिटल नीतिको समन्वय:
दुबै देशले डेटा संरक्षण, डिजिटल आइडेन्टिटी, ई–कमर्स लगायतका विषयमा साझा नीतिगत ढाँचा निर्माण गर्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

दृष्टिकोण: नेपाल–श्रीलंका डिजिटल करिडोर

दुवै मुलुकको दीर्घकालीन उद्देश्य "नेपाल–श्रीलंका डिजिटल करिडोर" निर्माण गर्नु हो, जसले दक्षिण एशियामा डिजिटल केन्द्रको रूपमा यिनीहरूलाई स्थापित गर्नेछ। यसले क्षेत्रीय इन्टरनेट पूर्वाधार, क्लाउड सेवा र साझा डिजिटल प्लेटफर्ममार्फत समग्र क्षेत्रको डिजिटल रुपान्तरणलाई गति दिनेछ।

यो रणनीतिक साझेदारीले नेपालको र श्रीलंकाको समृद्धि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाको डिजिटल भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

बुधबार, २८ जेठ २०८२, १६ : ४३

प्रतिक्रिया