काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
उक्त हकप्रद सेयरको लागि यसले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ ४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
तेह्रथुम पावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
यस हकप्रदमा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल काठमाडौं तथा नबिल बैंक र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया