सोफा र कुर्सीविहीन वडा कार्यालय

वडाध्यक्ष कार्कीको फरक कार्यशैलीः गुन्द्री र पिर्कामा बसेर सेवा, भुटेको मकै र गुन्द्रुकको अचार खाजा

विहीबार, २९ जेठ २०८२, १६ : ०२

झापा । मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गरेका छैनन् । 

“म आफू गुन्द्री र पिरामै बस्छु, पाहुनालाई पनि त्यसमै बसाउँछु”, वडाध्यक्ष कार्की भन्छन् । उनले आफ्नो कार्यकक्षमा एउटा पनि कुर्सी राखेका छैनन् । ग्रामीण पहिचान झल्काउन र रैथाने संस्कृतिको जगेर्ना गर्न कार्यकक्षलाई गुन्द्री र पिराले सजाउनु परेको उहाँको आफ्नै तर्क छ । 

विसं २०७९ मा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएर वडा कार्यालयमा प्रवेश गर्दा पहिलो निर्णय गुन्द्रीमै बसेर गरेका थिए । देख्ने र सुन्ने धेरैले ‘वडाध्यक्षको ढर्रा धेरै लामो नटिक्ने’ टिप्पणी गरेका पनि थिए । तर, उनले गुन्द्री र पिरामा बसेर वडाबासीको सेवा गर्ने इच्छालाई गफमा होइन, व्यवहारमा निष्ठापूर्वक पालना गरेर देखाएका छन्।

एक वर्षअघि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की झापाको बाहुनडाँगीदेखि उदयपुरसम्मको ‘हात्तीमैत्री लङमार्च’ उद्घाटनका लागि मेचीनगर–४ को कार्यालय पुग्दा वडाध्यक्ष कार्की परालको गुन्द्रीमा बसेको देखेर अचम्मित भएका थिए ।

वडाध्यक्ष कार्कीले विशिष्ट पाहुनाको रूपमा आएका तत्कालीन मुख्यमन्त्री कार्कीलाई पनि मकैको खोसेलाबाट बनाइएको पिरामा बसाएर भलाकुसारी गरे । मेची नदीको किनारमा लङमार्चको उद्घाटन हुँदासमेत सबै अतिथिलाई मञ्चमा बस्नका लागि पिराको व्यवस्था गरिएको थियो । आखिर वडाध्यक्ष कार्कीले कुर्सीको साटो गुन्द्री र पिरा नै किन रोजे ? वडा कार्यालयमा पहिलोपटक पुग्ने जो कोहीलाई जिज्ञासा लाग्न सक्छ । 

“लोप हुँदै गएका हाम्रा रैथाने संस्कृति र परम्पराको जगेर्ना गर्दै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य हो,” गुन्द्री र पिराप्रतिको मोहबारे उनी भन्छन्, “मेरो कार्यकालभरि यही परम्परा कायम राख्नेछु । कुर्सी र सोफामा बसेर कार्यालय चलाउँदिन । म जनताको सेवा गर्न आएको सेवक हुँ । कुर्सीमा बसेर शासन गर्न आएको होइन ।”

जनताको सेवा गर्न जनप्रतिनिधि भएर चुनिएको हुँदा सुख र सुविधामा आफ्नो ध्यान नगएको उनको तर्क छ । वडाध्यक्ष निर्वाचित हुनु अघिदेखि नै कार्की प्रकृतिप्रेमी, ग्रामीण पर्यटन अभियन्ता र बन्यजन्तु संरक्षण अभियन्ताको रूपमा चिनिएका थिए । अहिले उनी ‘अग्र्यानिक वडाध्यक्ष’को रूपमा परिचित भएका छन्। उनका हरेक कार्यक्रम र योजना अग्र्यानिक छन् । उनको अगुवाइमा वडामा हरेक वर्षको माघ १ गते ‘तरुल महोत्सव’को आयोजना हुन्छ ।

उनले चुनावमा भोट माग्न जाँदा मोटर गाडी होइन, लोप भइसकेको राँगागाडी चढेर चर्चा पाएका थिए । वडामा फूल फुल्ने प्रजातिका एक लाख विरुवा हुर्काउने उनको महत्त्वाकांक्षी योजना छ । उनको विकासे कार्यक्रमको एउटा नाम ‘घरलौरी, तोरीमौरी’ राखेका छन् । भारतबाट हात्तीको बथान नेपाल प्रवेश गर्ने मेची नदीको बगरलाई उनले आकर्षक रूपमा सजाएर ‘प्रकृति पार्क’ बनाएका छन् । 

हात्तीको प्रतिमा र कलात्मक ढुङ्गे धाराले सजाइएको पार्कमा नेपाल र भारतका पर्यटक आउने गर्छन् । “परालको गुन्द्रीमा बसेर वडाबासीको निवेदनमा तोकादेश गर्ने यस्ता अग्र्यानिक वडाध्यक्ष मुलुकको अर्को ठाउँमा पाइन्न,” मेचीनगर–४ स्थित निरौला कृषि तथा पशुपालन प्रालिका सञ्चालक केवल निरौला भन्छन्, “झट्ट सुन्दा र उहाँको कार्यशैली हेर्दा पुरातन जस्तो लाग्छ । तर, यो अग्र्यानिक अभियानले सिंगो वडालाई ग्रामीण पर्यटनको उत्कृष्ट थलोको रूपमा चिनाउन मद्दत पुगेको छ । उहाँका हरेक कार्यक्रम पर्यावरणमैत्री छन् ।”

मेचीनगर नगरपालिका–४ को वडा कार्यालय पुग्ने पाहुना उनको कला, संस्कृति र पर्यावरणप्रतिको लगाव देखेर उत्प्रेरित हुने गरेका छन् । आफ्नो कार्यकक्षमा आउने पाहुनालाई उनी बेलचाना (औषधीय गुण भएको बनस्पति) को चिया चखाउँछन्। उनी कार्यालयमा बसेर भुटेको मकै र गुन्द्रुकको अचार खाजाको रूपमा खान्छन् । 

पलेटी कसेर परालको गुन्द्री र पिरामा बसेर साक्षात्कार गर्नुपर्ने वडाध्यक्षको कार्यकक्ष देख्दा सुरुमा आफूलाई आश्चर्य लागेको इलामका पर्यटन अभियन्ता केशवकुमार द्यौरालीले सामाजिक सञ्जालमा लेखेका छन् । 

“उनको कार्यकक्षमा सोफा र कुर्सी होलान् भन्ने मेरो सोझो अनुमान थियो,” वडाध्यक्षको कार्यकक्षमा पहिलोपटक पुग्दाको अनुभव लेख्दै द्यौराली भन्छन्, “तर वास्तविकता अर्कै थियो । वडाध्यक्ष त पिरा र गुन्द्रीमा बसेर वडाबासीसँग कुराकानी गरिरहनु भएको थियो । परम्परागत बस्तुबाट निर्मित रैथाने सामानको प्रयोगले स्थानीय उत्पादन र पर्यटकको प्रबर्द्धन भएको पाएँ । स्थानीयले आयआर्जन गर्न पाएका रहेछन् । उहाँको जस्तो सोचले नै अग्र्यानिक समृद्धिको बाटोमा हिँड्न सहयोग पुग्छ ।”
    
उनको वडाबासी नेपालमै सबैभन्दा बढी हात्ती प्रभावित छन् । साविक बाहुनडाँगीको एउटा हिस्साको रूपमा रहेको उहाँको वडामा हरेक दिन भारतबाट मेची नदी तरेर १०० वटासम्म जंगली हात्ती आउँछन् । दिनभर भारतको जंगलमा बसेर राति भएपछि आहाराको खोजीमा नेपाल भित्रिने पहिलो स्थान नै उनको वडा क्षेत्र हो । 

मानव र हात्तीको द्वन्द्वका कारण बिगत तीन दशकमा उनको वडाका दर्जनौँले ज्यान गुमाउनु परेको छ भने करोडौंको धनमाल क्षति भएको छ । तैपनि उनी हात्तीलाई मारेर होइन, सहअस्तित्वका माध्यमबाट द्वन्द्वको अन्त्य गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् ।  हात्तीसँग भिडेर होइन, सहअस्तित्व र मैत्रीपूर्ण माध्यमबाट मानवीय जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने अवधारणालाई लागू गराउने यस क्षेत्रकै पहिलो अभियन्ताको रूपमा वडाध्यक्ष कार्की चिनिन्छन् ।

हात्तीले किसानको बालीमा नोक्सानी ग¥यो भने वडाले क्षतिपूर्ति दिने व्यवस्था मिलाएका छन् । हात्तीलाई जिस्काउन, तर्साउन र आतंकित पार्न हुँदैन भन्ने हात्तीमैत्री अवधारणा गाउँमा बुझाउन उनले ठूलो हैरानी खेप्नु परिरहेको छ । यही अवधारणा पालना भएका कारण २०७५ सालयता बाहुनडाँगी क्षेत्रमा हात्तीबाट कुनै मानवीय क्षति भएको छैन । 

प्रकृतिमैत्री कार्यमा पु¥याएको योगदानको कदर गरेर विश्व वन्यजन्तु कोषले दुई साताअघि उनलाई रु ५० हजार नगद पुरस्कारसहित सम्मानित गरेको थियो । पुरस्कार वापत प्राप्त रकम उहाँले हात्ती प्रभावित बासिन्दाको हितमा प्रयोग गर्ने गरी कोषमा प्रदान गरेका छन् ।  

बाल्यकाल गाउँमै बिते पनि सामान्य परिवारको कार्की उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । काठमाडौंमा छँदा उनले साहित्य, कला र पर्यावरणको गहिरो अध्ययन गरे । उनी कुशल बाँसुरीबादकको रूपमा पनि परिचित छन् । उनका पर्यावरण जागरणसम्बन्धी लेखरचना विभिन्न पत्रपत्रिकासमेतमा प्रकाशित छन् ।

मुलुकमा लोकतन्त्रको स्थापनासँगै काठमाडौंमा उच्च शिक्षा पूरा गरेपछि उनी गाउँको मायाले डो¥याएर युवा उमेरमा बाहुनडाँगी फर्किए । गाउँमा उनले सामाजिक सेवा सुरु गरे । “गाउँको त्यसबेलाको अवस्था दयनीय थियो,” उहाँ गाउँको पुरानो अवस्थालाई सम्झदै भन्नुहुन्छ, “जंगली हात्ती र मान्छेबीच झडप नभएको कुनै दिन हुँदैनथ्यो । युवा पुस्ता सही मार्गनिर्देशन पाउन नसकेर दिग्भ्रमित भइरहेका थिए । आफ्नो गाउँलाई परिवर्तन गर्ने सोचका साथ म जागिर खाने र विदेश जाने सोच त्यागेर गाउँ फर्किएको हुँ ।” 

उनको नेतृत्वमा बाहुनडाँगीले नयाँ पहिचान र परिवर्तनको अनुभूति गर्न पाएको छ । उनकै नेतृत्वमा बाहुनडाँगीमा राष्ट्रिय र अन्तरराष्ट्रिय महत्त्वका कार्यक्रम आयोजना भएका छन् । विश्व बैंक, विश्व बन्यजन्तु संरक्षण कोष, प्रकृति संरक्षण कोषलगायतका संस्थाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि थुप्रै परियोजना बाहुनडाँगीमा ल्याएका छन् । गाउँमा सिंहदरवार पुर्याउने सङ्घीयताको मूल उद्देश्यले मेचीनगर–४ मा मेल खाएको देख्न सकिन्छ । वडाध्यक्ष कार्कीको गुन्द्री र पिराप्रतिको मोहले ‘जनप्रतिनिधि भनेको जनताको सेवक हुन्, शासक होइनन्’ भन्ने भावनात्मक सन्देश प्रवाह गरिरहेको छ । चन्द्रकला भण्डारी/रासस

विहीबार, २९ जेठ २०८२, १६ : ०२

प्रतिक्रिया