काठमाडौं- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले आज आइतबारदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीको ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन भएको छ।
हकप्रद सयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुकक्लोज गरेकोले जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यस हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। यो हकप्रद सेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सक्ने छन् ।
यसैगरी, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट पनि आवेदन दिन सकिनेछ ।
यस बाहेक नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया