काठमाडौं- कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको एग्रीवस्तु कृषि तारा २०८२’ सम्पन्न भएको छ ।
कार्यक्रममा ‘एग्रीवस्तु कृषि तारा २०८२’ बाट कृषक बहरैची केवट सम्मानित भएका छन् । लामो समयदेखि कृषि पेसामा आबद्ध केवटलाई नगद १ लाखसहित सम्मान गरिएको हो ।
‘कृषक देवो भवः’ मूल मन्त्रलाई आत्मसाथ गर्दै दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रीवस्तु कोल्ड स्टोरेज बुद्धभूमी १० चेतरादेइमा भएको भव्य समारोहकाबीच केवटसहित अन्य कृषकहरू पनि सम्मानित भए । यसै गरी कृष्ण मोहन केवट दोस्रो हुँदै नगद ७५ हजार पुरस्कार पाउँदा कृष्णलाल भारती तेस्रो हुँदै नगद ५० हजार प्राप्त गरे ।
यस्तै, उत्कृष्ट महिला कृषक तर्फ दुर्गा अर्यालले अवार्ड पाउँदा विदेशबाट फर्किएर कृषि कर्म गरिरहेका बलबहादुर राना पनि नगदसहित सम्मानित भए । यस्तै, सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, वैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
सम्मानित सबैले पहिलो पटक कपिलवस्तुमा आयोजना भएको यो कार्यक्रमले आफूहरू उत्साहित भएको बताउँदै प्राप्त नगद पुरस्कार यही पेसाको वृद्धिका लागि खर्च गर्ने बताए ।
मौरीविद् अनिरुद्ध नाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्यांकन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्त्वना पुरस्कार प्राप्त गर्नेहरू छानिएको एग्रीवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए ।
मूल्यांकन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका थिए।
संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढंगले मूल्यांकन गरिएको बताउँदै यस प्रतियोगिताले किसानहरूलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे । कृषि पेसा गरेर केही हुँदैन भन्ने नकारात्मक सोच समाजमा अझै पनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कलाकार जितु नेपाल ‘मुन्द्रे’ को बेजोड प्रस्तुतिका साथै गणेश वन्दना र थारु नाचले माहोल थप रमाइलो बनाएको थियो ।
प्रतिक्रिया