काठमाडौं— नेपाल धितोपत्र बोर्डले तीनवटा खुलामुखी म्युचुअल फन्ड योजनाहरूलाई इकाइ निष्कासनको अनुमति दिएको छ।
अनुमति प्राप्त योजनाहरूमा एनएमबि सरल बचत फन्ड–ई, सिटिजन्स सदाबहार योजना र एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम रहेका छन्।
धितोपत्र बोर्डको स्वीकृति अनुसार, एनएमबि क्यापिटलद्वारा व्यवस्थापित “एनएमबि सरल बचत फन्ड–ई” अन्तर्गत २ करोड इकाइ थप निष्कासन गरिनेछ। १० रुपैयाँ अंकित दरमा यो निष्कासनबाट २० करोड रुपैयाँ बराबरको पूँजी संकलन गरिनेछ। कुल ३४ करोड इकाइ बोर्डमा दर्ता भइसकेका छन्। कोष प्रवर्द्धक एनएमबि बैंक रहेको छ।
त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिटिजन्स सदाबहार योजनाले पनि १० रुपैयाँ अंकित दरमा ५ करोड इकाइ निष्कासन गर्नेछ, जसबाट ५० करोड रुपैयाँ बराबरको पूँजी जुटाइनेछ। यो योजनाको व्यवस्थापन सिटिजन्स क्यापिटलले गर्नेछ भने कोष प्रवर्द्धक सिटिजन्स बैंक लिमिटेड हो।
यसैगरी, एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम अन्तर्गत एनआईसी एसिया क्यापिटलले १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ निष्कासन गर्नेछ, जसबाट १ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ। योजना एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ भने कोष प्रवर्द्धक एनआईसी एसिया बैंक रहेको छ।
यी तीनवटै योजना खुलामुखी प्रकारका म्युचुअल फन्ड हुन्, जसमा लगानीकर्ताहरूले कुनै पनि समयमा इकाइ खरीद तथा फिर्ता गर्न सक्छन्।
प्रतिक्रिया