भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना सुरु

विहीबार, ०५ असार २०८२, १५ : ३९

काठमाडौं- स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा सबल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए ।

भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उनको भनाई छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले जानकारी दिए । 

नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरूको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताए । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उनको भनाई छ ।

कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले जानकारी दिए । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उनको भनाई छ । 

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले परियोजनाको लक्ष्य,योजना र गरिने क्रियाकलापका बारेमा जानकारी गराएका थिए । सो अवसरमा उनले साना किसान र महिलाहरूको लागि परियोजनाले काम गर्ने जानकारी दिए । 

यस्तै दियालो संस्थाका कार्यवाहक अध्यक्ष विष्णु सुवेदीले कृषि र पशु विकासका लागि सबैको सहकार्य महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल,नगर प्रवक्ता तथा वडा अध्यक्ष दीपेन्द्र केसी, वडा अध्यक्षहरू श्यामकाजी अधिकारी,नन्दलाल खनाल,वित्तीय अधिकृत अम्बिका पौडेल,दियालो संस्थाका कोषाध्यक्ष चण्डिका सापकोटा, हेफर प्रोजेक्टका एक्सेस टु फाईनाईन्स नागेन्द्र भट्ट लगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । 

परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।  

परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रम पालिकाको नौ वटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ । 

विहीबार, ०५ असार २०८२, १५ : ३९

प्रतिक्रिया