लगातार चार दिनको गिरावटपछि शेयर बजारमा सामान्य सुधार

सोमबार, ०९ असार २०८२, १५ : ४३

काठमाडौं– लगातार चार कारोबार दिनसम्म गिरावट देखिएको नेपाली शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.७८ अंकले वृद्धि भएर २६००.७६ विन्दुमा पुगेको छ । आज अधिकांश कारोबार समूहको सूचक सकारात्मक रहँदा, व्यापार समूहको सूचकमा उल्लेखनीय २.२० प्रतिशतको वृद्धि देखिएको छ ।

यता, विकास बैंक, बीमा, उत्पादनमूलक, म्युचुअल फन्ड र अन्य समूह भने घटेका छन् । कम्पनीगत रूपमा हेर्दा, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । अर्कोतर्फ, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ, जुन आजको दिनमा सबैभन्दा धेरै घटेको कम्पनी हो ।

यद्यपि परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर किनबेच भई जम्मा ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार मात्र भएको छ ।
 

 
सोमबार, ०९ असार २०८२, १५ : ४३

प्रतिक्रिया