निर्वाहमुखी कृषिबाट व्यावसायिक नगदेबालीतर्फ उन्मुख हुनुपर्छ : प्रदेश प्रमुख खापुङ

विहीबार, १२ असार २०८२, ११ : २७

काठमाडौं- कोशी प्रदेश प्रमुख परशुराम खापुङले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका–२० स्थित धरान कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा प्रदेश प्रमुखज्यूले बताएका हुन् । उनले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सकिने सम्भावना रहेको धारणा राखेका थिए ।

प्रदेश प्रमुख खापुङले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसारमार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्दै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।
केन्द्रका निर्देशक अन्जना राईले युवाहरु उद्यमतर्फ आकर्षित गराउन कृषि उद्यम केन्द्र खडा गरेको बताइन् । उद्यमतर्फ लाग्न तालिम प्रदान गर्नका साथै कृषि पेशाबाट नै देश समृद्ध बनाउन सम्भावना रहेको उनको धारणा थियो ।

त्यसैगरी वडा नं. २० का पूर्ववडाध्यक्ष मणिराम राईले आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्यम केन्द्रको स्थापना भएको बताउँदै गाउँमा धेरै कृषकहरु लाभान्वित भएको बताए । त्यसैगरी वर्तमान वडाध्यक्ष पदम लिम्बूले कृषितर्फ तीनै तहको सरकार उदासिन रहेको बताएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष बलजीत राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

विहीबार, १२ असार २०८२, ११ : २७

प्रतिक्रिया