दिलभूषण पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

विहीबार, १९ असार २०८२, ११ : ३०

काठमाडौं- पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ । 

विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा उपस्थित भएका हुन् । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको हो । 

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी उनीविरुद्ध गरिएको छ । 

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । 

 
विहीबार, १९ असार २०८२, ११ : ३०

प्रतिक्रिया