ताजा समाचार

रास्वपाको प्रथम महाधिवेशन अलमलमा परेको बेला जेनजी अगुवा रवि किरण हमालका ३ सुझाव

मंगलबार, ०९ असार २०८३, १५ : ४०

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई नजिकबाट नियालिरहेका जेनजी अगुवा रवि किरण हमाल ले महाधिवेशनलाई नयाँ राजनीतिक संस्कार स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।

हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र “एक व्यक्ति, एक जिम्मेवारी” को सिद्धान्त कडाइका साथ लागू गरिनुपर्ने बताएका छन्। उनका अनुसार शक्ति र जिम्मेवारी केही व्यक्तिमा केन्द्रित हुँदा संस्था कमजोर र व्यक्ति बलियो बन्ने खतरा रहन्छ। त्यसैले दीर्घकालीन रूपमा बलियो राजनीतिक संस्था निर्माण गर्न जिम्मेवारीको स्पष्ट विभाजन आवश्यक रहेको उनको भनाइ छ।

त्यसैगरी उनले पार्टीको भविष्य निर्माणमा नयाँ पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्न कम्तीमा एक चौथाइ स्थान जेनजी पुस्ताका लागि सुरक्षित गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्। ती स्थानहरूमा सोही पुस्ताका युवाबीच मात्र प्रतिस्पर्धा हुने व्यवस्था गरिनुपर्ने उल्लेख गर्दै उनले युवालाई केवल प्रतीकात्मक प्रतिनिधित्व नभई नेतृत्वको वास्तविक अवसर दिनुपर्नेमा जोड दिएका छन्।

महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया खुला, निष्पक्ष र प्रतिस्पर्धात्मक हुनुपर्ने धारणा राख्दै हमालले लोकतन्त्रको आत्मा नै स्वस्थ प्रतिस्पर्धामा निहित रहेको बताएका छन्। “सर्वसम्मति लोकतान्त्रिक अभ्यासको एउटा माध्यम हुन सक्छ, तर यदि त्यो पूर्वनिर्धारित वा प्रतिस्पर्धालाई निषेध गर्ने माध्यम बन्छ भने महाधिवेशन विचार र नेतृत्व चयनको थलो नभई केवल अनुमोदन सभा बन्न सक्छ,” उनले उल्लेख गरेका छन्।

उनले परिवर्तनको दाबी गर्ने राजनीतिक शक्तिहरूले आफ्नै आन्तरिक संरचनामा लोकतान्त्रिक मूल्य र संस्कार स्थापित गर्न नसके जनतामा परिवर्तनप्रतिको विश्वास कमजोर हुने चेतावनीसमेत दिएका छन्।

हमालले भनेका छन्, “यदि महाधिवेशनले संस्थाभन्दा व्यक्तिलाई, प्रतिस्पर्धाभन्दा सहमतिलाई र पुस्तान्तरणभन्दा यथास्थितिलाई प्राथमिकता दिन्छ भने त्यो परिवर्तनको राजनीति होइन, परम्परागत राजनीतिक संस्कृतिको पुनरावृत्ति मात्र हुनेछ।”

उनले रास्वपाको पहिलो महाधिवेशनले नेपाली राजनीतिमा संस्थागत लोकतन्त्र, पुस्तान्तरण, खुला प्रतिस्पर्धा र क्षमतामा आधारित नेतृत्व विकासको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

“रास्वपाको पहिलो महाधिवेशनले यस्तो राजनीतिक संस्कारको सुरुवात गरोस्, जहाँ अवसर पहुँच र प्रभावका आधारमा होइन, क्षमता, योग्यता र स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्धारण होस्। यही नै नयाँ राजनीतिको वास्तविक परीक्षा र सफलता हुनेछ,” हमालले बताएका छन्

मंगलबार, ०९ असार २०८३, १५ : ४०

प्रतिक्रिया