काठमाडौं–शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्जको सूचाकाङ्कमा ५४३.०९ अंकको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्याङ्कमा नेप्से सूचकाङ्क २११२.३० अंकबाट २६५५.३९ विन्दुमा बढोत्तरी भएको हो । समिक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । २०८१ जेठ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
२०८२ जेठ मसान्तमा नेप्सेमा सूचिकृत कम्पनीहरुको संख्या २७२ पुगेको छ । सूचिकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ जेठमा सूचिकृत कम्पनीहरुको संख्या २७० रहेका थिए । नेप्सेमा २०८२ जेठ मसान्तमा सूचिकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रहेको छ ।
समिक्षा अवधिमा ६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचिकृत भएका छन् । जसमा २३ अर्ब ६३ करोड बराबरको बनोस सेयर, २२ अर्ब ४० करोड बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबारको धितोपत्र सूचीकृत भएका हुन् ।
समिक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, १३ अर्ब बराबरको म्युचल फण्ड, ८ अर्ब ४२ करोड बराबरको डिबेन्चर र २ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल ३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया