काठमाडौं–सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्म ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय देख्न सकिने जनाइएको हो । फिल्मका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् ।
छायांकन शंकल्प भुजेलले, सम्पादन नहकुल खड्काले, साउन्ड डिजाइन भरत कंडेलले र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् । हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने संकेत गरेका छन् ।
रामजी ज्ञवालीले यसअघि निर्माण गरेका ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ समेत प्रदर्शनको पर्खाइमा छन् । ‘निःशब्द’सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन् । ‘रित्तो गाउँ’ ले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्डहरु प्राप्त गरिरहेको छ भने विभिन्न फेस्टिवलहरुमा प्रदर्शन भइरहेको छ ।
एक दशक लामो पत्रकारिता यात्रापछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’लगायतका चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया