काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय नाफा वृद्धि हासिल गर्दै लाभांश वितरण क्षमतामा समेत ठूूलो सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ३२.८१ प्रतिशतले बढेको हो।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३८.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २८.०६ प्रतिशतको तुलनामा करिब १० प्रतिशत बिन्दुले वृद्धि हो।
सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यो ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो। ब्याज आम्दानीतर्फ बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.३६ प्रतिशतले बढी हो।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङमा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ संचित छ। अघिल्लो वर्ष यस्तै अवधिसम्म रिटेन्ड अर्निङ ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ र रिजर्भ १२ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा निक्षेपमा र कर्जामा दुबैमा उल्लेखनीय वृद्धि हो।
खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ०.७१ प्रतिशत थियो। यस अवधिमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३७.९९ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ३१.४७ रुपैयाँ थियो। हाल बैंकको पीई रेसियो १८.४७ गुणा र प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ कायम छ।
प्रतिक्रिया