राष्ट्रिय वाण्ज्यि बैंकको नाफा करिब ५० प्रतिशतले बढ्यो, ईपीएसमा पनि वृद्धि

विहीबार, २९ साउन २०८२, १० : ४४

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले आर्जन गरेको २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ नाफाको तुलनामा ४९.५३ प्रतिशतले बढी हो । 

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले १.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ३८ करोड २५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ९ करोड २ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३१.५९ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंकले १० अर्ब ८ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ३ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ०.५२ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ३० करोड ३४ लाख रुपैयाँ र रिजर्भमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ १ अर्ब २२ करोड २१ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा ३५ अर्ब ८२ करोड २० लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.५९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.२८ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २४.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.३२ रुपैयाँ थियो।

 
 
विहीबार, २९ साउन २०८२, १० : ४४

प्रतिक्रिया