गर्भ रहन किन गाह्रो हुन्छ ?

४ बर्ष अगाडि

तपाईं अहिले १९ वर्षको हुनुभएको छ र तपाईंको विवाह १६ वर्षमै भएको देखिन्छ । तपाईं किशोरावस्थामा भएकाले प्रजनन क्षमता भए पनि त्यो परिपक्व भैनसकेको हुनसक्छ । आमा र शिशुको स्वास्थ्यका दृष्टिले २० वर्षपछि मात्र सन्तान जन्माउनु उपयुक्त मानिन्छ । तपाईं शारीरिक रूपमा परिपक्व नभैसक्नुभएकाले पनि तपाईंको गर्भ रहन नसकेको हुन सक्छ । त्यसबाहेक गर्भ नरहनुका अन्य के–कस्ता कारण हुन सक्छन् छोटकरीमा चर्चा गरौं ।

डिम्ब नियमित रूपमा निस्किरहेको छैन भने गर्भ रहन गाह्रो हुन्छ । तपाईंको महिनावारी नियमित भैरहेको छ कि छैन, केही लेख्नुभएको छैन । महिनावारी नहुनु वा नियमित नहुनुले डिम्ब निष्कासनमा समस्या रहेको कुरालाई संकेत गर्छ । तपाईंले आफ्नो तौलका बारेमा पनि लेख्नुभएको छैन । गर्भका लागि उचित तौल आवश्यक हुन्छ । तौल अति नै कम वा बढी हुँदा गर्भधारणमा समस्या हुन सक्छ ।

अर्को प्रमुख समस्या पाठेघरको भित्री परतमा देखा पर्ने खराबी हो । यसलाई चिकित्सकीय भाषामा Endometriosis भनिन्छ । कतिपयमा कुनै लक्षण नदेखिने भए पनि महिनावारी हुँदा वा यौनसम्पर्क गर्दा पीडा हुन्छ त कसैलाई बढी योनि रक्तश्राव हुन्छ भने कसैको तल्लो पेट दुख्छ ।

डिम्बाशयको खराबी जस्तै polycystic ovarian syndrome जस्ता स्थितिमा डिम्ब राम्रोसँग परिपक्व हुन सक्दैन । महिनावारी नियमित नहुने जस्ता कुरा देखिन्छन् । गर्भधारण गर्न नसक्नुको अर्को प्रमुख कारण महिलाको डिम्बवाहिनी नलीमा भएको खराबी हो ।

त्यस्तो हुँदा पुरुषबाट आएको शुक्रकीटसँग महिलाको डिम्ब मिलन हुन सक्दैन र यदि मिलन भैहाले फेरि पाठेघरसम्म आउन नसक्ने स्थिति हुन्छ । विशेष गरेर कतिपय यौनरोग तथा Pelvic inflammatory disease जस्ता परिस्थितिमा यस्तो हुन्छ । त्यसबाहेक कतिपय स्थितिमा यस्तो किन भएको हो भनेर कारण थाहा पाउने स्थिति पनि हुँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया