काठमाडौँ–उद्योग विभागले भारत सरकारमार्फत भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपट्र्स लिमिटेड (एनसीएल) बाट ४० हजारमेट्रिक टन गहुँ आयात गर्नका लागि खाद्य तथा मैदा उद्योगहरूबाट प्रस्ताव आह्वान गरेको छ । विभागले यसका लागि इच्छुक उद्योगहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
विभागकाअनुसार तोकिएको समयावधिभित्र गहुँ आयात गर्ने सुनिश्चितता गरेका उद्योगहरूलाई मात्र कोटा वितरण गरिने जनाएको छ । यसअघि कोटा प्राप्त गरी हालसम्म गहुँ आयात नगरेका उद्योगहरूलाई कोटा प्रदान गरिने छैन । उद्योगको स्वीकृत योजना को २५ प्रतिशतभन्दा बढी नहुने गरी कोटा प्रदान गरिनेछ ।
पर्याप्त माग नआएमा बाँकी कोटा सोही अनुसार बाँडफाँड गरिनेछ । उद्योग प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको हुनुपर्नेछ । उद्योगको वार्षिक योजनामा कच्चा पदार्थको रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्नेछ र सोही योजना अनुसार आयात गर्नुपर्नेछ ।
भारतको एनसीएललाई अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको आधार पेस गर्नुपर्नेछ । साथै कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया