काठमाडौं– नेकपा(एमाले)ले यसअघि सामाजिक सञ्जालमार्फत सञ्चालन गरेको म झोले हुँ भन्ने विवादास्पद अभियान पछि अहिले ‘धन्यवाद’ अभियान सुरु गरेको छ । यो अभियान चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे चिनियाँ राष्ट्रपति सि जिङ पिङ समक्ष नेपालको तर्फबाट दाबी पेश गरेको भन्दै धन्यवाद दिइएको हो ।
एमालेका महासचिव शंकर पोखरेलदेखि उपाध्यक्ष विष्णु पौडेल उपमहासचिव विष्णु रिमाल लगायत पदाधिकारी तहका अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको तस्बिर फेसुबक लगायत सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
यसअघिको झोले अभियानलाई एमालेका सबै नेता कार्यकर्ताले स्वीकार नगरेपछि सर्वस्वीकार्य हुन सकेको थिएन ।त्यसमा कतिपयले आफू एमाले कार्यकर्ता भएको बताउँदै झोले नरहेको प्रष्ट्याएका थिए । अहिले त्यही झोले अभियानको शैलीमा प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै धन्यवाद अभियान चलाइएको छ ।
भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक मार्ग बनाउने सहमति गरेपछि नेपालले विरोध जनाउँदै आएको छ । सोही भूमिबारे चिनियाँ प्रतिनिधिसमक्ष प्रधानमन्त्री ओलीले दाबी पेश गरेको भन्दै एमाले नेताहरुले उनको प्रशंसा गरी धन्यवाद अभियान सुरु गरेका हुन् ।
यो पनि एमालेमा सर्वस्वीकार्य हुन सकेको छैन । एमालेका एक नेताले धन्यवाद दिने अवस्था अझै आइनसकेकाले हतारिनु आवश्यक नभएको बताए । ती नेताका अनुसार नेपाली भूमि भारतका कारणले विवादित भएकाले भारतसँगै कूटनीतिक तवरले हल गर्नु अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया