काठमाडौं- हालै विभिन्न सञ्चारमाध्यममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सम्बन्धमा प्रकाशित समाचारहरूले अनर्गल भ्रम फैलाउने प्रयास गरेको भन्दै नाडाले गम्भीर आपत्ति जनाएको छ।
नाडाले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका संस्था विरोधी समाचारहरू तथ्यविहीन र निराधार रहेको स्पष्ट पारेको छ।
नाडाले प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र आफ्नो गतिविधि अघि बढाउँदै आएको बताएको छ । नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ।”
संस्थाले सदस्यहरूको मताधिकार सुरक्षित गरिएको उल्लेख गर्दै विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीमाथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य भएको जनाएको छ। यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो। तर, दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले २०८२ भदौ १८ गतेको पत्रमार्फत स्थगन आदेश फुकुवा गरेको स्पष्ट पारेको छ।
सो पत्रमा प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्ने उल्लेख गरिएको छ। यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको विज्ञप्तिमा जनाइएको छ।
नाडाले पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत भएको बताउँदै कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय नगरेको स्पष्ट गरेको छ। संस्थाले नेतृत्व चयन र पद हस्तान्तरण सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाट हुनेमा जोड दिएको छ।
यसै सन्दर्भमा, नाडाका अध्यक्ष करणकुमार चौधरीले पनि आफ्नो व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै भनेका छन्, “यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु।”
नाडाले अटोमोबाइल व्यवसायीहरूको साझा संस्था भएकाले कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग नहुने स्पष्ट पारेको छ। संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शी, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्रै अघि बढाइने जनाएको छ।
नाडाले अन्त्यमा भनेको छ, “हामी सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गर्दछौं । का.जि.प्र कार्यालयको आधिकारिक पत्रमार्फत विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि भइसकेकोले अब नाडा पूर्ण कानुनी र संस्थागत ढाँचाभित्र रही आगामी विशेष साधारण सभा सम्पन्न गर्नेछ ।”
प्रतिक्रिया