काठमाडौं - श्री पशुपति मनकामना पूर्ति तथा सङ्कटमोचन विराट ज्ञान महायज्ञ–२०८२ मा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले नेपाललाई पुनः सनातन हिन्दू राष्ट्रको रूपमा स्थापना गर्नुपर्ने माग राखेका छन्।
पशुपति क्षेत्रमा जारी ऐतिहासिक महायज्ञलाई सम्बोधन गर्दै हमालले हिन्दू धर्म र संस्कृतिका जरा नेपालकै भूमिमा गढिएका कारण यो देशलाई सनातन मूल्य र परम्परा अनुसार अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार महायज्ञजस्ता धार्मिक अनुष्ठानहरूले समाजमा आस्था र नैतिकता जगाउने मात्र होइन, आज देशभर बढ्दै गएका हत्या, हिंसा, बलात्कारजस्ता गम्भीर सामाजिक समस्याहरूलाई न्यूनीकरण गर्दै मानिसहरूलाई जिम्मेवार, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ डो-याउने मार्गदर्शन गर्छन्।
“वैदिक मन्त्रहरूको उच्चारणले सिङ्गो ब्रह्माण्ड नै स्वच्छ बन्छ, पवित्र बन्छ। यसले राष्ट्रलाई संकटमुक्त मात्र होइन, उज्ज्वल भविष्यको बाटोमा डोर्याउँछ,” हमालले भने।
त्यस्तै, उनले भगवान् पशुपतिनाथले सम्पूर्ण नेपालीहरूलाई दिगो शान्ति, उन्नति र भलाइको आशीर्वाद प्रदान गरून् भन्ने कामना पनि व्यक्त गरे।
महायज्ञमा हजारौँ श्रद्धालुहरूको सहभागिता भइरहेको छ भने वैदिक पण्डित–पुरोहितहरूले निरन्तर मन्त्रोच्चारण, प्रवचन र धार्मिक अनुष्ठान सञ्चालन गरिरहेका छन्। आयोजक समितिका अनुसार महायज्ञमार्फत समाजमा धार्मिक चेतना, नैतिक संस्कार र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ।
प्रतिक्रिया