सोल्टी होटलले वीरगञ्जमा  ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

आइतबार, २२ भदौ २०८२, १३ : २४

काठमाडौं- नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड  रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ। 

होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड  रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतानले औपचारिक हस्ताक्षर गरेका हुन् ।

चापागाईंले वीरगञ्जमा वेस्टेण्ड ब्राण्डको प्रवेशले आधुनिक आतिथ्यता, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवलाई संयोजन गरी अतिथिलाई अद्वितीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेर सोल्टीको सुप्रसिद्ध वेस्टेण्ड ब्राण्ड अन्तर्गत डिसेम्बर २०२५ बाट सञ्चालनमा आउन लागेको हो ।

वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित यो होटल राष्ट्रिय राजमार्गसँगै जोडिएको छ र भारतसँगको अन्तर्राष्ट्रिय सीमा नाकाको नजिक भएकाले रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण गन्तव्य मानिएको छ । स्वदेशी र विदेशी दुवै पाहुनाका लागि यो क्षेत्र आकर्षक पर्यटन तथा व्यावसायिक केन्द्रको रूपमा चिनिन्छ । 

होटलमा आधुनिक शैलीमा डिजाइन गरिएका कोठा, विभिन्न भोजन तथा व्यञ्जनका विकल्पहरू, फिटनेस क्लब, स्वीमिङ पुल, स्पाका साथै क्यासिनो भवन लगायतका सुविधा रहनेछन् । 

समकालीन सुविधा, गुणस्तरीय सेवा र सोल्टी ब्राण्डको विशिष्ट पहिचानमार्फत यो होटल व्यवसायिक पाहुना, अवकाश मनाउन आउने परिवारदेखि आधुनिक यात्रुहरू सबैका लागि रोजाइको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

 
आइतबार, २२ भदौ २०८२, १३ : २४

प्रतिक्रिया