एनसेलद्वारा सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दर्ता

सोमबार, ३० भदौ २०८२, १६ : ४५

काठमाडौं- काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गते  जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र डकैती गरेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएको छ । 

उजुरीमा एनसेलले यी घटनाहरूसँग संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाउन आग्रह गरेको छ ।

साथै चोरिएका सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको दस वटै तलामा रहेका बहुमूल्य विद्युतीय समान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिनलगायतका सामान तथा महँगा गाडीसमेत जलाइएको जनाएको छ ।

घटनाको क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि एनसेलले प्रहरीलाई उपलब्ध गराएको छ ।

 
सोमबार, ३० भदौ २०८२, १६ : ४५

प्रतिक्रिया