शिवम् होल्डिंसको चौथो वार्षिक साधारणसभा सम्पन्न

शनिबार, ०१ कार्तिक २०८२, १० : ३४

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिंस लिमिटेडको चौथो वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई ११ करोड ६० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शिवम् होल्डिंस लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत सेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार चौथो पटक २०८१/८२ सम्म सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ। साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतिक्षामा रहेको छ।

शिवम् होल्डिंस लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको होङशी शिवम् सिमेन्टमा ३० प्रतिशत शेयर रहेको छ । होङसीमा ७० प्रतिशत चिनियाँ लगानी रहेको छ। उद्योग गण्डकी प्रदेश, पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका, सर्दीमा अवस्थित छ ।

 
 
शनिबार, ०१ कार्तिक २०८२, १० : ३४

प्रतिक्रिया