काठमाडौं- यही कार्तिक १४ गते रिलिज हुने ‘परान’ चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।
काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाइएको छ ।
यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई सिनेमाको कथानक बनाएको छ।
चलचित्रको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । नेपाली चलचित्रमा अभिनयका भीष्मपितामाका रूपमा चिर परिचित निर शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो चलचित्रलाई विशेष चासोका रुपमा लिई प्रतिक्षा गरिएको छ।
चलचित्रले पारिवारिक दर्शकहरूलाई मूलरूपमा आकर्षण गर्ने ठानिएको छ। फिल्मको ट्रेलर पनि सोही वर्गका दर्शकहरूलाई आकर्षित गर्ने किसिमले तयार पारिएको छ।
‘परान’ चलचित्रलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ ले चलचित्र निर्माण गरेको हो।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
प्रतिक्रिया