काठमाडौं- नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्री वाईफाई इन्टरनेट सेवा मिति २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए । उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी सीएएन फ्री वाईफाई भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निःशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया