टोयोटा ग्रुपको सुपर प्रिमियम ब्राण्ड ‘सेन्चुरी’ लन्च

आइतबार, १६ कार्तिक २०८२, ११ : २६

काठमाडौं- जापान मोविलिटी शोमा टोयोटाले नयाँ लग्जरी प्रिमियम ब्राण्ड सेन्चुरी लन्च गरेको छ । कम्पनीले नयाँ ब्राण्डसँगै कुपे डिजाइनमा फ्यूचरिस्टीक कार कन्सेप्ट पनि देखाएको हो ।

लामो समयदेखि टोयोटाले आफ्नो लग्जरी लाइनअपमा सेन्चुरी मोडल उत्पादन गर्दै आएको थियो । कम्पनीले सन् १९६७ मा पहिलो पटक टोयोटा सेन्चुरी सेडान लन्च गरेको थियो । तर, सन् २०२३ बाट भने टोयोटाले सेन्चुरी ब्राण्ड नै ल्याउने र त्यसमा लग्जरी तथा प्रिमियम कार मात्रै बनाउने योजना अगाडि सारेको थियो ।

लन्च भएको सेन्चुरीलाई टोयोटा ग्रुपले छुट्टै ब्राण्ड भनेर चिनाएको छ । यसअघि टोयोटा प्रिमियम ब्राण्ड लेक्सस भनेर चिनिन्थ्यो । अब लेक्ससभन्दा पनि माथि सेन्चुरी रहने कम्पनीले जनाएको छ । यसको सिधा प्रतिस्पर्धा बेलायती ब्राण्ड रोल्स रोयससँग हुनेछ ।

सेन्चुरी ब्राण्डमा देखाएको कन्सेप्ट कार निकै असाधारण देखिएको छ । यसको नाम भने खुलाइएको छैन । कुपे डिजाइनमा आधारित एसयूभीमा ड्यूल हेडलाइट डिजाइन दिइएको छ । एसयूभीमा २४ इन्चको विशाल ह्वील, ‘ड्राइभ वाइ वायर सिस्टम’ उपलब्ध छ ।

चार सिट क्षमतामा देखिएको सेन्चुरी नयाँ कुपे कारमा योक स्टाइलको स्टेरिङ ह्वील, स्मार्टफोन जस्तो देखिने इन्फोटेन्मेन्ट स्कृन, दुईवटै स्लाइडिङ डोर दिएको छ । यसमा पछाडि झ्याल भने दिएको छैन ।

सेन्चुरी ब्राण्डमा आउने पहिलो कुपे कारमा ५.० लिटर, भी ८ कम्बस्चन इन्जिन हुने अनुमान गरिएको छ । त्यस्तै यसको प्लगइन हाइब्रिड भर्सनमा भी ६ इन्जिन हुने अनुमान छ ।

 
आइतबार, १६ कार्तिक २०८२, ११ : २६

प्रतिक्रिया