पहिलो त्रैमासमा चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्चमा गिरावट, राजस्व लक्ष्यबाट सरकार टाढा

सोमबार, १७ कार्तिक २०८२, १४ : ०९

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को साढे तीन महिनाको अवधिमा राज्यको औसत आर्थिक क्रियाकलाप गत आवको सोही अवधिको तुलनामा प्रभावित भएको तथ्यांकले देखाएको छ । 

अर्थ मन्त्रालयले आइतबार प्रकाशित गरेको तीन महिनाको तथ्यांकले समीक्षा अवधिमा सरकारको आयकर र गैरकर राजस्व आम्दानीमा नकारात्मक प्रभाव परेको देखाएको हो । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले असोज १६ गतेसम्म चालु आवको लक्षित आयको १८.४३ प्रतिशत मात्रै आय गरेको छ । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब आम्दानीको लक्ष्य राखेकोमा असोज १६ गतेसम्म २ खर्ब ७२ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म सरकारले अघिल्लो आवको सोही अवधिको तुलनामा भन्सार महसुल ९.३९, मूल्य अभिवृद्धि कर ८.१८, अन्तःशुल्क १९.६५ र शिक्षा सेवा शुल्क तथा अन्य आय ३८.१९ प्रतिशतले वृद्धि गरेको छ । 

तर, सो अवधिमा आयकर ९.०२ र अन्य राजस्व (गैरकर) ४८.४८ प्रतिशतले गिरावट आएको छ ।

चालु आवको असोज १६ गतेसम्म सरकारले चालु खर्चतर्फ विनियोजित बजेटको २३.५३ प्रतिशत खर्च गरेको छ भने वित्तीय व्यवस्थापनतर्फ ३१.३४ प्रतिशत खर्च गरेको छ । 

तर, सो अवधिमा सरकारले पुँजीगत खर्च भने जम्मा ५.०१ प्रतिशत मात्रै गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आवको सो अवधिसम्म सरकारले चालु, वित्तीय व्यवस्थापन र पुँजीगत खर्चतर्फ क्रमशः २३.१७, २३.३३ र ९.२४ प्रतिशत खर्च गरेको थियो । 

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ५० लाख माथि

अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने व्यक्तिको संख्या ५० लाख ४६ हजार ४६६ पुगेको छ । 

साथै, सो अवधिसम्म २० लाख ८८ हजार ७११ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने ३६ हजार ३६८ जनाले डब्लु पान नम्बर लिएका छन् । 

 
सोमबार, १७ कार्तिक २०८२, १४ : ०९

प्रतिक्रिया