सामसङद्वारा नेपालमा ग्यालेक्सी एम-१७ फाइभजी सार्वजनिक, यस्ता छन् विशेषता

विहीबार, २० कार्तिक २०८२, १० : २३

काठमाडौं- सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम-१७ फाइभजी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक क्यामेरा’ प्रविधि प्रस्तुत गरेको छ।

यस प्रविधिले स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सक्ने भएकाले यो मोबइल आफ्ना हरेक क्षणलाई प्रो-लेभल गुणस्तरमा कैद गर्न चाहने ग्राहकहरूका लागि उपयुक्त रहेको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एम-१७ फाइभजी मार्फत एआई र प्रिमियम क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य रहेको छ। ‘नो–शेक क्यामेरा’ लगायतका फिचरहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउने र यो फोन विशेषगरी निडर, सिर्जनात्मक र गतिशील युवाहरूका लागि तयार गरिएको छ।

सामसङका अनुसार ग्यालेक्सी एम-१७ फाइभजीमा ग्यालेक्सी एआईद्वारा सञ्चालित ‘सर्कल टु सर्च विथ गुगल’ र ‘रियल-टाइम एआई असिस्ट’ जस्ता फिचरहरू समावेश छन् जसले खोज, संवाद र मल्टिटास्किङलाई अझ सहज बनाउँछ। यसमा प्रयोग गरिएको ६ न्यानोमिटर एक्सिनोस १३३० प्रोसेसरले गेमिङ, स्ट्रिमिङ र दैनिक कार्यमा छरितो तथा ऊर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ।

यो स्मार्टफोनमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ जसलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टसले सुरक्षित गरेको छ। साथै आईपी-५४ रेटिङका कारण यो धूलो र पानीबाट पनि सुरक्षित रहन्छ। यी सबै विशेषताले ग्यालेक्सी एम-१७ फाइभजीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथि बनाउने दाबी गरिएको छ।

सामसङले ग्यालेक्सी एम-१७ फाइभजीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ। ४ जीबी र १२८ जीबी स्टोरेजको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो नयाँ स्मार्टफोन अहिले देशभरका सामसङ अधिकृत रिटेल स्टोरहरू, सामसङ प्लाजा र प्रमुख ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको सामसङले जानकारी दिएको छ।

 
 
विहीबार, २० कार्तिक २०८२, १० : २३

प्रतिक्रिया