नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ४ गतेदेखि भृकुटीमण्डपमा सुरु हुँदै

बुधबार, ०२ पुस २०८२, १२ : ४३

काठमाडौं- नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। 

काठमाडौं मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा हुन लागेको यो प्रदर्शनी पुस ४, ५ र ६ गतेसम्म सञ्चालन हुनेछ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी यो बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौँ संस्करणमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन्।

पछिल्लो एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीले काठ, फर्निचर र इन्टेरियर क्षेत्रसँग सम्बन्धित व्यवसायी, डिलर, सब–डिलर तथा उपभोक्तालाई नयाँ उत्पादन र अत्याधुनिक प्रविधिबारे जानकारी गराउँदै आएको छ। प्रदर्शनीमार्फत यस क्षेत्रमा प्रयोग हुँदै आएका मेसिनरी तथा प्रविधि उन्नयन गरी उद्योगलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको आयोजकको भनाइ छ।

प्रदर्शनीमा सहयोगी संस्थाका रूपमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाईनर एसोसिएसन नेपाल रहेका छन्।

यसैगरी, इन्टेरियर डिजाईनर एसोसिएसन नेपालका विज्ञहरूको सहभागितामा इन्टेरियर डिजाईन, फर्निचर र नविनतम प्रविधिसम्बन्धी दुईदिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना गरिनेछ।

प्रदर्शनीमा घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, यस प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास, आधुनिकीकरण तथा नयाँ प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

 
बुधबार, ०२ पुस २०८२, १२ : ४३

प्रतिक्रिया