विश्व बैंकले नेपाललाई दियो ११ अर्ब सहुलियत ऋण

४ बर्ष अगाडि

काठमाडौँ – विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको सङ्घीयताको कार्यसूची कार्यान्वयन, नीति, नियम र ऐन कानूनका माध्यमबाट वित्तीय सङ्घीयता स्थापना, सङ्घीय कानुन, सङ्घीयस्तरमा समग्र कानुन निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयन, लेखा प्रणाली सुधारका साथै स्थानीय सरकारका बजेट प्रक्रियामा सघाउन उक्त सहायता उपयोग गरिनेछ ।

त्यस्तैगरी, पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर सङ्कलन प्रणालीमा सुधार, मध्यकालीन खर्च ढाँचा तयारी, सुधारका कार्यक्रममा दिगोपन सुनिश्चिततामा पनि सहयोग रकम खर्च हुनेछ । सचिव घिमिरेले सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालको सङ्घीयताको अभ्यासमा सघाउन बैंकले सहुलियतमा ऋण उपलब्ध गराएको देशीय प्रबन्धक हादादजार्भोसले बताए । उनले विभिन्न चुनौतीलाई चिर्दै सफलतातर्फ उन्मुख यो सङ्घीय संरचनालाई सुदृढ तुल्याउन बैंक प्रतिबद्ध छ भन्छन् । उनले नेपालको सङ्घीयताको अभ्यास र सरकारीस्तरबाट भएका कामको पनि प्रशंसा गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया