नेपाल टेलिकमले एफटीटीएच सेवामा वाइफाई ६ प्रविधि सुरु गर्ने

बुधबार, ०९ पुस २०८२, १३ : २९

काठमाडौं- नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउने उद्देश्यले वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। 

वाइफाई ६ प्याकेज अन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ।

यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएकोमा अब वाइफाई ६ प्रविधिको सीपीईसँगै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागेको हो। नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने तथा इन्टरनेटको गति उल्लेख्य रूपमा वृद्धि हुने टेलिकमको विश्वास छ।

वाइफाई ६ प्रविधिबाट धेरै डिभाइस एकैसाथ कनेक्ट गर्न सकिने, सबै प्रयोगकर्ताले फुल स्पिडमा इन्टरनेट चलाउन सक्ने, डाटा ट्रान्सफर छिटो हुने, डिभाइसको ब्याट्री लाइफ बढ्ने तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा प्राप्त हुने टेलिकमले जनाएको छ।

ग्राहकका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज, इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिनेछ । त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज, प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । 

यी सबै प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलमा डाटा सुविधा पनि समावेश हुनेछ।

नेपाल टेलिकमले वाइफाई ६ प्रविधिका सीपीई, एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य जानकारी नेपाल टेलिकमको वेबसाइट, ‘नेपाल टेलिकम’ एप, १९८ मा फोन गरेर वा नजिकको टेलिकम कार्यालयबाट लिन सकिने जनाएको छ।
 

 
बुधबार, ०९ पुस २०८२, १३ : २९

प्रतिक्रिया