काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकारको आधिकारिक विकास सहायता (ODA) अन्तर्गत कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (NIA) को प्राविधिक सहयोगमा सूचना पहुँच केन्द्र (Information Access Center–IAC) स्थापना गरेको छ।
नास्ट र कोरियन पक्षबीच सन् २०२० डिसेम्बर ११ मा द्विपक्षीय सम्झौतापत्र (MoU) मा हस्ताक्षर भएसँगै औपचारिक प्रक्रिया सुरु गरिएको थियो। सो केन्द्रको औपचारिक उद्घाटन सन् २०२१ नोभेम्बर ११ मा सम्पन्न भएको हो। दुई देशबीचको सहकार्यको मुख्य उद्देश्य नेपालमा रहेको डिजिटल विभाजन घटाउनुका साथै सूचना प्रविधि (IT) क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनु रहेको नास्टले जनाएको छ।
सूचना पहुँच केन्द्रलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो, नास्ट परिसरभित्र स्थापना गरिएको स्थायी सूचना प्रविधि ल्याब हो भने दोस्रो घुम्ती सूचना पहुँच केन्द्र (मोबाइल IAC–बस) हो। स्थायी ल्याबमार्फत विद्यालय तथा विश्वविद्यालयका शिक्षक–विद्यार्थी, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरूलाई आवश्यकताअनुसारका विभिन्न आईटी तालिम प्रदान गरिँदै आएको छ।

यसैगरी, मोबाइल IAC बसमार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर विद्यालय, विश्वविद्यालय, सरकारी निकायका पदाधिकारी तथा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिम दिइँदै आएको छ। सन् २०२२ देखि हालसम्म स्थायी ल्याब र मोबाइल IAC मार्फत झण्डै १२ हजारभन्दा बढी व्यक्तिले निःशुल्क सूचना प्रविधिसम्बन्धी तालिम लिइसकेका छन्।
नास्टका अनुसार यो कार्यक्रम नयाँ अवधारणामा आधारित भएकाले व्यापक आकर्षण र प्रशंसा प्राप्त गर्दै आएको छ। सार्वजनिक माग बढ्दै गएपछि तालिम कार्यक्रमको दायरा पनि विस्तार गरिएको जनाइएको छ।
यसका साथै कोरियन सरकारको सहयोगमा दृष्टिविहीन व्यक्तिहरूको जीवनयापन सहज बनाउन विभिन्न आधुनिक उपकरणहरू उपलब्ध गराइएको छ। सूचना पहुँच केन्द्रमार्फत नास्ट परिसरका साथै देशका अन्य स्थानहरूमा समेत दृष्टिविहीनलाई लक्षित तालिम कार्यक्रम सञ्चालन हुँदै आएका छन्। स्रोत–साधनको सीमितताबीच पनि कार्यक्रमलाई निरन्तरता दिँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने माग बढ्दै गएको नास्टले जनाएको छ।
यसैबीच, हालै कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (NIA) ले ४५ देशका ६० वटा सूचना पहुँच केन्द्रका गतिविधि समेटिएको ३ देखि ५ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो सहभागी भएका थिए। तीमध्ये नास्टले प्रस्तुत गरेको भिडियो तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
उच्चस्तरीय प्राविधिक उपकरण र दक्ष जनशक्तिको सीमितताका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गर्नु नास्ट मात्र नभई देशकै लागि गौरवको विषय भएको नास्टले उल्लेख गरेको छ।
प्रतिक्रिया