काठमाडौं- नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान प्रभावकारी रुपमा अघि बढेको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।
डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुलुकको भविष्य निर्माणको आधार पनि हो ।’ उनले प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने अभियानको मुख्य लक्ष्य रहेको श्रेष्ठले बताए ।
विशेषगरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारलार्य प्राथमिकता दिइएको डिजी स्कुुलले जनाएको छ । डिजी स्कुल मार्फत शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
डिजी स्कुल अभियानले विद्यालय शिक्षालाई समय अनुकूल बनाउँदै २१औं शताब्दीको सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । सो कार्यक्रमबाट २ सय ५० विद्यालयका विद्यार्थी लावान्धित भएका छन् । आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्यसहित डिजी स्कुल अभियानलाई विस्तार गरिने बताइएको छ ।
यस अभियानले विद्यालय प्रशासनलाई पनि डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकस“गको समन्वय सुदृढ बनाउन मद्दत पु¥याएको छ ।
शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य बन्दै गएको वर्तमान सन्दर्भमा डिजी स्कुल अभियानलाई सरकारी, निजी तथा सामुदायिक विद्यालयहरूबीच सहकार्यको उदाहरणका रूपमा हेरिएको छ । डिजिटल साक्षर समाज निर्माणतर्फ अग्रसर यस अभियानले नेपालको शिक्षा प्रणालीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
स्थापनाको ५ वर्ष प्रवेश गरेको अवसरमा डिजी स्कुलले विद्यार्थी लक्षित डिजी मेडिकल सेवा, विद्यालयमै स्वास्थ्य परिक्षण सेवा समूह दुर्घटना बीमा जस्ता कार्यक्रम पनि ल्याएको छ ।
प्रतिक्रिया