काठमाडौं- नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। हाल उक्त प्रणालीको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको हो।
परीक्षण कार्यको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे तथा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले क्युआर कोडमार्फत ग्राहक विवरण अद्यावधिक गर्ने प्रणालीले नेपाल टेलिकमको सेवालाई अझै ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे । यस्तै, प्रादेशिक निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न गर्न सकिने भएकाले यसले कम्पनीको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले यो प्रणालीले डिजिटल रुपान्तरण, पेपरलेस कार्यप्रणाली तथा ग्राहक डाटा अद्यावधिक प्रक्रियालाई सहज बनाउने अपेक्षा व्यक्त गरे।
नयाँ प्रणालीअनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा राखिएको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन्। ग्राहकले भरेको विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले प्रमाणिकरण गरी विवरण अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।
पहिलो चरणको परीक्षणमा क्युआर कोड स्क्यानमार्फत विवरण भर्न सकिने व्यवस्था गरिएको छ भने आगामी दिनमा नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपबाट पनि ग्राहक विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिने टेलिकमले जनाएको छ।
हाल परीक्षण सेवा दूरसञ्चार कार्यालय, सुन्धारामा सीमित रहेको र परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय तथा उपत्यकाबाहिरका कार्यालयहरूमा समेत यो सुविधा विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ।
प्रतिक्रिया